११ बैशाख २०८१, मंगलवार 1713887086
Banner

कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताउनुभएको छ । कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उद्घाटन गर्दै उहाँले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताउनुभयो ।

कर्णाली कला, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले स्रष्टालाई सम्मान गरेकोमा आफूलाई खुसी लागेकोसमेत उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी कर्णालीमा रहेको प्राकृतिक स्रोत र साधन सदुपयोग गर्नसके सामाजिक तथा आर्थिकरूपमा समेत कर्णाली क्षेत्रलाई माथि उठाउन सकिने उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धनको ठोस योजना तथा कार्यक्रम अगाडि सारेर यसको कार्यान्वयन गर्नसके आर्थिक विकासमा फड्को मार्न सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले कर्णाली क्षेत्रले समग्र नेपालको कला र संस्कृतिमा पु¥याएको योगदानलाई आजको यस कार्यक्रमले उजागरण गर्न मद्दत पु¥याएको बताउनुभयो । “आजको यस कार्यक्रमले हाम्रो मौलिक कला, सङ्गीत र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि कलाकार तथा स्रष्टाहरूलाई उत्साहित बनाउँदै अग्रसर हुन थप प्रेरणा प्रदान गर्न सहयोग मिल्ने विश्वास गर्दछु”, उहाँले भन्नुभयो । उहाँले कर्णालीको सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थलका रूपमा मानिएको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीको संलग्नतामा कर्णाली क्षेत्रको समाज, जीवन र संस्कृतिसमेतको अध्ययनमा कर्णालीको लोक संस्कृति प्रकाशनमा आएपछि यस क्षेत्रको विशिष्टताका बारेमा हामीले थप परिचित हुने मौका मिलेको बताउनुभयो । उहाँले विविध संस्कृतिले सजिएको नेपाल सांस्कृति सम्पदाले सुसम्पन्न विश्वभर परिचित रहेको बताउनुभयो । “यहाँका विविध संस्कृतिभित्र मौलिक परम्परा, कला तथा साहित्य विद्यामान छ । हरेक मुलुकको संस्कृतिलाई त्यहाँको कला सामाजिक संस्कार र परम्पराले प्रत्यक्ष प्रभाव पार्ने हुनाले यसलाई समाजको दर्पण मानिएको छ”, उहाँले भन्नुभयो, “हाम्रा मौलिक गीत सङ्गीत र बाजाहरू अतुलनीय रहेको छ । जसले हामीलाई उन्नत राष्ट्रिय भावनामा आबद्ध गरेको छ । यसै हुनाले नेपाली समाज र संस्कृतिका रूरुपमा सयौँ थरी बाजा एउटै ताल भन्ने भनाइ सार्थक भएको छ भन्ने मलाई लागेको छ ।”

उहाँले अध्ययन, अनुसन्धान र संरक्षणका माध्यमबाट कला र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो । कार्यक्रममा कलाकार शम्भुजित बाँस्कोटा, नन्दकृष्ण जोशी, अमृत खाती, समाजसेवी ज्ञानेन्द्र श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । यस्तै कलाकार एलिना सापकोटा, भीमप्रसाद गजुरेल, मेचु धिमाल, सनम कठायत, पूर्ण चौलागाईं, यमप्रसाद न्यूरेलगायतलाई सर्वोकृष्ट अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा रमानन्द आचार्यले कर्णालीका पहिचान बनाउन अभियान थाल्नुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष पदम रोकायले कर्णाली क्षेत्रको समग्र कला, संस्कृतिको विकासमा योगदान पु¥याएबापत सम्मान र अवार्ड प्रदान गरिएको बताउनुभयो ।