७ बैशाख २०८१, शुक्रबार 1713521162
अर्थ

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरु

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ ।

एकीकृत कारोबारपछि प्रभु बैंकको कूल सम्पत्ति रु तीन खर्ब ४० अर्ब, चुक्ता पूँजी रु २२ अर्ब, कूल निक्षेप रु दुई खर्ब ८४ अर्ब र कूल कर्जा प्रवाह रु दुई खर्ब ५३ अर्ब पुगेको छ । त्यस्तै, ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ । एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले लिएको नीतिअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने÷गाभिने र प्राप्ति प्रक्रियामा गइरहेका छन् ।

चालु आर्थिक वर्षको पुस महिनामा मात्र आठवटा वाणिज्य बैंक एक आपसमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएर चारवटा कायम भएका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु एकापसमा गाभिएर ‘ग्लोबल आइएमई बैंक लिमिटेड’ का नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । त्यस्तै, कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए । मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिएर भोलि बुधबारदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ का नामबाट एकीकृत कारोबार गर्दैछन् ।

त्यस्तै, हिमालयन बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने सुरु भइसकेको छैन । दुवै बैंकले पुस २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएका छन् । आगामी माघ महिनाभित्रै एकीकृत कारोबार गर्ने यी बैंकको तयारी छ । त्यस्तै, लक्ष्मी बैंक र सनराइज बैंकले पनि एकापसमा मर्जरमा जाने समझदारी गरिसकेका छन् ।