७ बैशाख २०८१, शुक्रबार 1713528899
Banner

सत्ता साझेदार दलमा मुख्यमन्त्रीको भागबण्डा टुंगियो

काठमाडौं- प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सत्ता साझेदार दलहरूबीच सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ छ दलका शीर्ष नेताहरूको बैठकमा सातै प्रदेशको सरकार गठनका विषयमा सहमति जुटेको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश एकबाहेक छ वटा प्रदेशको सरकार गठनको बिषयमा सहमति बनेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । नेता दाहालका अनुसार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति भएको छ । उहाँले कर्णालीमा माओवादी केन्द्रले पाँचै वर्ष सरकार चलाउने सहमति भएको बताउनुभयो । बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दाहालले जानकारी दिनुभयो ।

सहमति अनुसार मधेश प्रदेशमा पहिलो कार्यकालमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्नेछ । बागमतीमा पहिलो कार्यकाल माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा पहिलो कार्यकाल एमालेले सरकारको नेतृत्व गर्नेछ । मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले सरकारको आलोपालो नेतृत्व गर्नेछन् ।

त्यसैगरी प्रदेश सभाको सभामुख र उपसभामुखको चयनबारे पनि सत्ता साझेदार दलबीच सहमति भएको छ । एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रको सभामुख र माओवादी केन्द्रको मुख्यमन्त्री भएको प्रदेशमा एमालेका तर्फबाट सभामुख हुनेछ । तर बागमती प्रदेशको सभामुख पद चाहिँ राप्रपालाई दिने निर्णय भएको नेता दाहालले जानकारी दिनुभयो ।

प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने दाहालले बताउनुभयो । त्यसैगरी मधेश प्रदेश र कर्णाली प्रदेशको प्रदेश सभामा सभामुखमा एमालेका तर्फबाट नियुक्त हुने उहाँले भन्नुभयो ।

प्रदेश १ र गण्डकी प्रदेशको उपसभामुख एमाले, बागमती र कर्णाली प्रदेश उपसभामुख माओवादी केन्द्र, लुम्बिनी प्रदेशमा राप्रपा र मधेशमा जनमत पार्टीका तर्फबाट उपसभामुख चयन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।