१३ बैशाख २०८१, बिहीबार 1714054744
अपराध

तीनजना महिलाको हत्या गर्ने भारतीय नागरिक दम्पती प्रक्राउ

अर्घाखाँची- तीन महिलाको हत्या गर्ने भारतीय नागरिक र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । अर्घाखाँची, गुल्मी र कपिलवस्तु जिल्लामा गरी तीनजना महिलाको हत्या गरेको आरोपमा भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमत शिवा परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

गत पौष १७ गते बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी ६० वर्षीया राधा थापाको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा तीन जनाको हत्या गर्ने व्यक्ति भारतीय नागरिक सिंह र उनकी श्रीमती परियार रहेको तथ्य प्रहरीले फेला पारेको हो ।

थापाको हत्या गरेर भाग्ने क्रममा सिंहलाई सोही दिन प्रहरीले जंगलमा पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धानको क्रममा उनले श्रीमतीसँग मिलेर योजनाबद्ध ढङ्गले हत्या गरेको बताएपछि प्रहरीले निजकी श्रीमती शिवा परियारलाई पनि पक्राउ गरेको छ ।

यसअघि सिंहले गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको पनि हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।