७ बैशाख २०८१, शुक्रबार 1713561814
विश्व

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते

मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए । “यो एक गम्भीर दुर्घटनामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्य करिब ९० जना घाइते भएका छन्,” पश्चिम अफ्रिकी देश सेनेगलका अग्नि नियन्त्रक चेख फलले भन्नुभयो ।

स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको उहाँले बताउनुभयो । भग्नावशेष र भत्किएका बसहरू हटाइसकिएको र सामान्य यातायात सुचारु भएको उहाँले बताउनुभयो ।

गभर्नर र स्थानीय अधिकारीहरूले घटनास्थलको भ्रमण गरेको उहाँले बताउनुभयो । सेनेगलमा चालकको अनुशासनहीनता, कमजोर सडक र जीर्ण सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरूले बताएका छन् । यद्यपि यो हालैका वर्षहरूमा एउटै सडक दुर्घटनामा भएको सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो ।