७ बैशाख २०८१, शुक्रबार 1713572932
समाचार

संकटालाई दोश्रो पटक आहा राराको उपाधी

पोखरा – आहा रारा गोल्डकपको २२ औं संस्करणको उपाधी संकटा क्वलले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा भुटनिज क्लव अमेरिकालाई ३–२ गोल अन्तरले पराजीत गरि संकटाले आहा राराको उपाधी दोश्रो पटक उचालेको हो । खेलको सातौं मिनेटमा सुरजज्यू ठकुरीको गोलबाट अग्रता लिएको संकटालाई ३४औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । ३७औं मिनेटमा रेने स्यान्टिलनले भुटनिजका लागि गोल गर्दै २–१ को अन्तरमा झारे । 

पहिलो हाफको अन्तिम समयमा भुटनिजका विलिस ग्रिफिटले गोल गरे । दोश्रो हाफमा कुनैपनि टीमबाट गोल हुन सकेन । गोल गर्ने धेरै अवसर पाएपनि दुवैले गुमाए । निर्धारित समय २–२ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २६औं मिनेटमा संकटाका क्याप्टेन सुनिल बलले गोल गर्दै टीमका लागि जित दिलाए । 

योसँगै आहारारामा संकटाले दोस्रो पटक उपाधी जितेको हो । यसअघि २०७७ को उपाधी पनि संकटाले जितेको थियो । संकटा हालसम्म २ पटक मात्रै फाइनल पुगेको छ भने दुवै पटक उपाधी जितेको छ । दुवै पटक विदेशी टीमलाई हराएको संकटाले २०७७ मा अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

उपाधीसँगै संकटाले १२ लाख नगद प्राप्त गरेको छ भने भुटनिज टीमले ६ लाख पायो । यो वर्ष उपाधीमा २ ला र दोश्रो हुनेलाई १ लाख पुरस्कार थप गरिएको हो । संकटाले यो टुर्नामेण्टमा उत्कृष्ट प्रशिक्षक, खेलाडी, गोल रक्षक, फरवार्ड, मिड फिल्डर पनि जितेको छ । संकटाका कप्तानसमेत रहेका सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै, संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर तथा टीकेन्द्र थापा उत्कृष्ट गोल रक्षक र स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बने । 

संकटाकै सल्यान खड्की उत्कृष्ट प्रशिक्षक घोषित हुँदा फ्लेयर प्ले धरान फुटबल क्बल र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले पाएका छन् । आहा रारा पोखरा गोल्डकप मोफसलकै प्रतिष्ठित टुर्नामेण्टका रुपमा स्थापित छ ।