७ बैशाख २०८१, शुक्रबार 1713507410
प्रदेश

माझी समुदायले मनाए कोशी पूजा

उदयपुर । माझी समुदायले धूमधामका साथ मङ्गलवार कोशी (लदी) पूजा मनाएका छन् । 

खोला तथा नदी किनारमा कोशी (लदी)पूजा मनाइएको हो । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । माझी समुदायले हरेक वर्ष फागुन तेस्रो मङ्गलवार यो पर्व मनाउँदै आएका छन् । माझी समुदायको पुर्खौली थलो कोशी किनार हो । विशेष गरी पानीको पूजा गर्ने भएकाले पनि यो समुदायले कोशी पूजालाई ठुलो पर्वको रूपमा लिने गर्छ ।

लदी पूजाका दिन सामूहिक रूपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठुलो कोसीको पूजा गरिन्छ । बज्रको पूजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन् । पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फुल अक्षताको प्रयोग हुन्छ । 

माझी समुदायले लदीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग राखे पनि सरकारले सम्बोधन नगरेको नेपाल माझी उत्थान सङ्घ उदयपुरका सचिव दीपक माझीले बताउनुभयो ।