७ बैशाख २०८१, शुक्रबार 1713577296
Banner

विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायो

काठमाडौंः रोहित पौडेलको अर्धशतकप्रेरित विराटनगर सुपर किङ्ग्सले बुधबार नेपाल टी २० लिगमा फार वेस्टर्न युनाइटेडलाई ६ विकेटले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको फार वेस्टले ९ विकेटको क्षतिमा एक सय ५६ रनको योगफल बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा तीन बल बाँकी रहँदा लक्ष्य पूरा गर्यो। विराटनगरका लागि ४२ बलको सामना गरेका रोहितले चार चौका र दुई छक्कासहित ६० रनको महत्त्वपूर्ण इनिङ खेले।

यस्तै, ओपनर प्रदीप ऐरी २६ बलमा ४० रन जोडेर पेभेलियन फर्केका थिए। हुसेन तलत १७ रन बनाएर आउट हुँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

फार वेस्टका लागि करण केसी, प्रकाश जैसी, नुरु अहमद र हस्मतुल्लाह शाहिदीले एक–एक विकेट लिए।

पहिलो इनिङमा फार वेस्टका लागि विनोद भण्डारीले सर्वाधिक ४५ रनको योगदान गरेका थिए। फार वेस्टका लागि ३८ बलको सामना गर्दा विनोदले ६ चौका र दुई छक्का प्रहार गरेका थिए।

त्यसबाहेक कप्तान शाहिदी २७ तथा उमार अली १६ रन बनाएर पेभेलियन फकिँदा करण केसी २१ रनमा अविजित रहे।

विराटनगरका लागि साहब आलमले सर्वाधिक तीन तथा किओन जोसेफले दुई विकेट लिए।

 जितसँगै विराटगनर सुपर किङ्ग्सले आठ खेलबाट ६ अंक जोडेर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।