२० माघ २०७९, शुक्रबार 1675473784
Banner

घनश्याम भुसालः वामपन्थी आन्दोलनविरूद्ध प्रयोग गरिएका दक्षिणपन्थीका खेताला ?

घनश्याम भुसाल कुनै पनि कोणबाट वामपन्थी चिन्तक र नेता होइनन्। भुसाल त वामपन्थी आन्दोलन कमजोर बनाउन प्रयोग गरिएका दक्षिणपन्थीका खेताला पो हुन् कि भनेर शङ्का गर्नुपर्ने भएको छ। तर पनि उनी एकीकृत कम्न्युनिष्ट आन्दोलनको पक्षमा छु भनेर वामपन्थी नेता तथा कार्यकर्ता अनि शुभचिन्तकहरूलाई भ्रमित बनाइरहेका र बनाउने काम गरिरहेका छन्। उनका निकट विगतले मात्र होइन, इतिहासले पनि उनी वामपन्थी आन्दोलनको विरूद्धमा थिए भन्ने पुष्टि भइरहेको छ।

घनश्याम भुसालले जननेता मदन भण्डारी बलियो हुँदा भण्डारीका विरूद्धमा थिए पछि माधवका विरूद्धमा पनि उभिए। त्यसैले २०५४ मा वामदेव गौतमको नेतृत्वमा सिपी मैनालीसँग मिलेर नेकपा एमाले फुटाउन सघाए। अहिले २०७१ सालदेखि केपी ओलीका विरूद्धमा राजनीति गरेर एमाले कमजोर बनाउने अभियानमा छन् किनभने जननेता मदन भण्डारीको विचार “जनताको बहुदलीय जनवाद” लाई स्थापित हुन नदिने उनको लक्ष्य हो अनि त्यहिअनुसार प्रयासमा पनि गरिरहेका छन्। त्यसैले त मिडियामा घनश्याम भुसालले पर्याप्त ठाउँ पाएका छन्। यस्ता पात्रहरूलाई वामपन्थी नेता तथा कार्यकर्ता अनि शुभचिन्तकहरूले चिन्नुपर्छ र बहिष्कार पनि गर्नुपर्छ, किनभने यस्ता पात्रहरू आन्दोलनको दृष्टिकोणमा गद्दार नै हुन्।

घनश्याम भुसाललाई अझै पनि चिन्न नसकेर मान्छेहरू उनलाई वामपन्थी चिन्तक र विश्लेषक भन्दैछन्। यहि भ्रमलाई बुर्जुवा मिडियाहरूले वामपन्थी चिन्तक र विश्लेषकको पगरी लगाएर प्रचार गरिरहेका छन्। यसो गर्नुको मुख्य उद्देश्य नेपालको वामपन्थी आन्दोलन कमजोर बनाउने ‘विभाजन र शासनको नीति’ प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो।

२०५६ को आम निर्वाचानमा नेकपा एमालेले बहुमत ल्याउनेवाला थियो। त्यो सम्भावनालाई कमजोर बनाउन २०५४ सालमै घनश्याम भुसालहरूले वामदेव गौतमलाई अघि लगाएर नेकपा एमालेमा विभाजन ल्याएका थिए। २०७९ सालको आमनिर्वचनमा पनि नेकपा एमालेले बहुमत ल्याउने प्रबल सम्भावना थियो। यो पटक पनि घनश्याम भुसालहरूले माधव नेपाललाई अघि लगाएर एमालेमात्र फुटाएनन्, एमालेलाई हराउन घनश्याम स्वयं एमालेका विरूद्ध उम्मेदवारी नै दिए। जसले गर्दा लोकप्रिय मतमा पहिलो दल बन्दा(बन्दै पनि नेकपा एमाले प्रत्यक्षमा दोस्रो ठूलो दल बन्ने राजनीतिक परिस्थिति बन्यो।

अहिले तिनै घनश्याम भुसाल वामपन्थी एकताको राग अलापेर प्रगतिशील जनमत भ्रमित बनाउने प्रयास गरिरहेका छन्। प्रचण्ड एमालेको नेतृत्वमा रहेको गठबन्धनबाट प्रधानमन्त्री बनेपछि मेरो विचार सफल भएको भनेर आत्मप्रशंसामा रमाएका छन्। घनश्याम भुसाल कुरो वामपन्थी दलहरूबीचको सहकार्य र एकताको गर्छन् तर व्यवहार भने बुर्जुवा दक्षिणपन्थीहरूको विभाजन र शासनको नीति सफल बनाउन लागेका छन्। जबसम्म यस्ता पात्र र प्रवृत्तिलाई हामीले विचारक भन्छौं र आदर्श ठान्छौं, नेपालको वामपन्थी आन्दोलन एकीकृत र बलियो बन्ने वातावरण बन्न सक्दैन्।

यतिञ्जेल हामी भ्रममा पर्दा घनश्याम भुसालहरूले आफूलाई वामपन्थी विचारकका रूपमा प्रस्तुत गरेर हामीलाई कमजोर बनाउन उनी सफल भइरहेका थिए। अब समय र बुझाइ त्यस्तो रहेन, किनभने हामी पनि आन्दोलनभित्र घुसपैठ गरिएका बुर्जुवाका प्रतिनिधि पात्रहरूलाई चिन्ने भएका छौं। सूचना प्रविधिमा आएको क्रान्तिले हिजोको जस्तो जानकारी पाउन त्यति कठिन छैन् र हरेकले क्षण भरमै कहाँ के भइरहेको छ, थाहा पाउन सक्छन्। अनलाईन मिडिया र सामाजिक सञ्जालसम्मको पहुँचले हामीमा आलोचनात्मक चेतको विकासमात्र गरेको छैन्, हामीलाई सचेत भएर विवेकसम्मत निर्णय लिन पनि सघाइरहेको छ। तथापी त्यसले कहिलेकाहीं हामीलाई भ्रममा पनि पार्ने गरेको छ।

ब्राजिलमा लुला फेरि राष्ट्रपति भए अनि नेपालमा ओलीले पनि सत्ताको लगाम समाए भलै प्रचण्ड प्रधानमन्त्री भए। ब्राजिलको सत्तामा लुलाको पुनरागमनले अमेरिका रन्थनिएकोछभने नेपालको राजनीतिमा ओलीको बलियो उपस्थितिले सबैखाले दक्षिणपन्थी शक्तिहरू पीडामा परेका छन्। त्यसैले त घनश्यामहरू ओलीका विरूद्धमा अभिव्यक्ति दिएर ठूलो वामपन्थी दल नेकपा एमालेलाई कमजोर बनाउने सबैखाले प्रयास गर्दैछन्।