८ बैशाख २०८१, शनिबार 1713644128
Banner

विवादमा नेपाल टी– २० लिग, म्याच फिक्सिङको गम्भीर आरोप

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र भारतको सेभेन थ्री स्पोर्ट्सको व्यवस्थापनमा जारी नेपाल टी-२० लिग विवादले घेरिएको छ । लिगमाथि म्याच फिक्सिङको गम्भीर आरोपसमेत लागेको छ । आधिकारिक प्रसारणमा कमेन्टेटरका रूपमा काम गर्दै आउनुभएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उहाँले नेपालीसहित विदेशी खेलाडीहरूसमेत मिलेमेतोमा रहेको बयान दिनुभएको हो ।

उहाँले कमेन्टरका रूपमा आफूले प्रत्येक बल हेर्ने गरेको र त्यसक्रममा खेल भावना विपरीतका गतिविधि भइरहेको देखेको बताउनुभएको छ । उहाँले त्यसबारे एन्टिकरप्सन युनिट, क्यानका पदाधिकारीलगायत सम्पूर्णलाई जानकारी दिए पनि कसैले चासो नदेखाएको जिकिर गर्नुभएको छ ।

उहाँले जनकपुरका कप्तान ट्रेभन ग्रिफिथ, पोखराका आमिर हम्जालगायत खेलाडीहरूका गतिविधि सामान्य नरहेको समेत उदाहरण दिनुभएको छ । त्यसबाहेक नेपाली टोलीका एक बलरले पनि खेल भावनाविपरीत नो बल फालेको उहाँको भनाइ छ ।
सरोकारवालाले उक्त कुरा सही भए सम्बन्धितलाई तत्काल कारबाहीको माग गरेका छन् । क्रिकेट खेलाडी अन्तिम थापाले यदि यो सत्य हो भने लिग तत्काल रोकी त्यस्ता गतिविधि गरिरहेकालाई कारबाही हुनुपर्ने धारणा राख्नुभएको छ ।

यस्तै, क्रिकेट समर्थक विमल पौडेलले क्यानका अध्यक्ष, कोषाध्यक्ष, कार्यवाहक सचिवलगायत कसैको पनि अब पदमा बसिरहने नैतिकता नभएको भन्दै राजीनामा माग्नुभएको छ ।

मंगलबार काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीले टस नै गर्न मानेनन् । निर्धारित समयअनुसार टस बिहान ८ः३० मा हुनुपर्नेमा खेल नै सुरु हुन सकेन । दुवै टोलीका खेलाडी मैदानमा भए पनि टस नै गर्न आएका थिएनन् ।

खेलाडीहरूले सम्झौताअनुसार पारिश्रमिक नपाएपछि नखेल्ने निर्णय गरेका थिए । सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भए पनि हालसम्म पोखराका खेलाडीले ५० प्रतिशत र अन्य खेलाडीले कुनै रकम पाएका छैनन् ।

आयोजक सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालियासहित फारवेस्ट युनाइटेड, जनकपुर र विराटनगरका मालिकहरू सम्पर्कमा नआएपछि खेलाडीहरू टस गर्न नै नआएका हुन् । क्यानसँगको छलफलपछि खेलाडीहरू मैदान आएका थिए ।

यसअघि पनि नेपाल टी-२० लिग विवादमा घेरिएको छ । पटक-पटक गरी लिग तेस्रोपटक स्थगित भएको थियो । तेस्रो पटकलाई सारिएको मितिमा पनि खेलाडीहरूको श्रम सम्झौता नभएको भन्दै रोकिएको थियो ।

त्यसअघि काठमाडौं गोर्खाजले प्रतियोगिताबाट हात झिकेको थियो । कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले लिगमा कानुनी उल्झन रहेको भन्दै नाम फिर्ता लिएको थियो । त्यसको ठाउँमा क्यानले नयाँ व्यवस्थापनसँगै काठमाडौं नाइट्स टोलीको घोषणा गरेपछि प्रतियोगिता सञ्चालनमा आएको हो ।