५ जेष्ठ २०८१, शनिबार 1716082983
Banner

कीर्तिमानी रकममा रोनाल्डो साउदी अरेबियाको क्लबमा आवद्ध

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्।

कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा उनी ३ वर्षका लागि आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्।

साउदी अल-नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

अध्यक्ष मुअम्मरले रोनाल्डोलाई क्लबको ७ नम्बरको जर्सीसमेत हस्तान्तरण गरेका छन्।

३७ वर्षीय रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक लिएर एसियाली मुलुक साउदी गएका हुन्। रोनाल्डोको पारिश्रमिकबारे साउदी क्लबले केही खुलाएको छैन । 

‘‘म भाग्यशाली छु कि मैले युरोपेली फुटबलमा जित्नका लागि गरेको सबै कुरा जितेको छु । र, अहिले एसियामा आफ्नो अनुभव बाँड्ने यो उपयुक्त समय हो भन्ने महसुस गरेको छु,’’ रोनाल्डोले विज्ञप्तिमा भनेका छन्, “म मेरो नयाँ टोलीका साथीहरूसँग सामेल हुन उत्सुक छु । उनीहरूसँग मिलेर क्लबलाई सफलता हासिल गर्न मद्दत गर्दछु ।’’

अल नासर साउदी प्रो लिगमा नौ पटकको च्याम्पियन क्लब हो । क्लबले रोनाल्डोसँगको सम्झौतालाई ‘ऐतिहासिक’ भएको जनाएको छ । क्लबले भनेको छ, “यसले हाम्रो लिग, राष्ट्र र भावी पुस्ताका केटाकेटीहरूलाई आफैंलाई परिस्कृत हुन प्रेरित गर्नेछ ।’’