५ जेष्ठ २०८१, शनिबार 1716079034
Banner

नेपालको राजनीतिः नकारात्मक लोकप्रियतावादबाट कसरी जोगिन्छ ?

जसले मृत्युलाई चिनेको बुझेको छैन्, उसले धनदौलत संग्रहमा आफूलाई केन्द्रीत गर्छभने जीवनलाई चिनेको छैन् भने उसले भ्रम र धोकामा आफ्नो प्रगति र प्रतिष्ठा देख्छ। तर जसले मृत्यु र जीवन दुबै बुझेको र चिनेको छ, उसले जस पाउने कोणबाट आफूलाई लोकप्रिय बनाउने भन्दा सत्य र ईमानको जगमा वैचारिक ढंगले आफूलाई अघि बढाउँछ। अन्यथा उ लोकप्रिय हुँदाहुँदै बदनाम हुनसक्छ र समस्यामा परिरहन्छ। अनि समाज पनि नकारात्मक लोकप्रियतावादबाट निर्देशित भइरहन्छ। व्यक्तिगत, सामाजिक र राजनीतिक जीवनमा, यी सबै कुराहरू लागु हुन्छन्।

हिजो चुनावमा पुरानालाई विस्थापित गर्नुपर्छ भनेर “नो नट अगेन” को नारा लगाएर राजनीति गर्नेहरू जसका विरूद्ध चुनाव लडेका थिए आज सरकार बनाउन उसकै सहयोगी बनेको छ। पुरानोलाई अघि लगाएर “कन्ल्फिकट अफ ईन्ट्रेस्ट” लाई ख्यालै नगरी जिम्मेवारी लिएका छन्। पहिले जनमन भ्रमित बनाएर पाएको जितलाई अहिले खोलो तर्यो लौरो बिर्स्यो भने झैं अवस्था बनाएको छ। यो लेखक हिजोदेखि नै स्पष्ट थियो, नयाँ भन्नेहरू भ्रम हुन्। केही समयमा ति भ्रमका पर्दा खोलिने छन्। तर पनि तिनले केहि स्टन्ट र लोकप्रिय हुने निर्णयहरू गर्न सक्छन्।

अनन्त कोइराला सामाजिक सञ्जालमा लेख्छन्, “चुनावअघि प्रचण्डलाई संसदमा जानबाट रोक्न रबि चितवनमा अनि चुनावपछि प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमा बसाउन रबि सिंहदरबारमा।” यो खालको अभ्यास र परिणाम भनेको नकारात्मक लोकप्रियतावाद र दक्षिणपन्थी अवसरवादको चरम रूप हो। तर यसलाई गएको चुनावमा जनताले चिन्न सकेनन्, राजनीतिक दलहरूले जनतालाई बुझाउन सकेनन् अनि सञ्चार माध्यमहरूले पनि स्वतन्त्र र निष्पक्ष भएर प्रस्तुत भएनन्। परिणामस्वरूप नकारात्मक लोकप्रियतावाद र दक्षिणपन्थी अवसरवादले जित्ने अवस्था बन्यो।

राजनैतिक परिस्थिति कस्तो बनाइयो भने नेपाली कांग्रेसले कम्फर्टेबल गठबन्धन बनाएर नेकपा एमालेलाई मात्र कमजोर बनाएन आफै पनि राजनीतिक रूपमा कमजोर बनेको पत्तो नै पाएन। जबकि गएको चुनावमा पार्टीहरू एक्ला एक्लै चुनाव लडेका भए उनीहरूको शक्ति थाहा हुन्थ्यो अनि नकारात्मक लोकप्रियतावाद र दक्षिणपन्थी अवसरवादले संसदमा यो खालको उपस्थिति हुने अवस्था पनि आउने थिएन। दलहरू गठबन्धन नगरीकन चुनावमा नगएको भए कांग्रेस र एमाले मध्ये कुनै एउटा दल राजनीति रूपमा आजको भन्दा बलियो बन्ने थियो।

गएको चुनावमा पार्टीहरू एक्ला एक्लै चुनाव लडेका भए उनीहरूको शक्ति थाहा हुन्थ्यो अनि नकारात्मक लोकप्रियतावाद र दक्षिणपन्थी अवसरवादले संसदमा यो खालको उपस्थिति हुने अवस्था पनि आउने थिएन। दलहरू गठबन्धन नगरीकन चुनावमा नगएको भए कांग्रेस र एमाले मध्ये कुनै एउटा दल राजनीति रूपमा आजको भन्दा बलियो बन्ने थियो।

२०७४ को जनादेश खण्डित गरेर प्रचण्डहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाउनु राजनैतिक तथा वैचारिक विचलन थियो। त्यतिखेर त्यो खालको विचलन प्रचण्डहरूमा नआएको भए आजको संसदीय अंकगणित बन्ने अवस्था नै आउने अनि नकारात्मक लोकप्रियतावाद र दक्षिणपन्थी अवसरवादले आफूलाई बलशाली बनाउने वातावरण बन्ने थिएन। तर त्यो ईतिहास भैसक्यो, यसको समीक्षा भविष्यमा हुँदै जाला। यतिखेर नेकपा एमालेको समर्थनमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको छ। प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि झलक सुवेदी भन्छन्, “वामपन्थी शक्तिहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फेरि एकपटक एकता वा मोर्चाबन्दी गर्न बाटो खुलेको रूपमा समेत यसलाई बुझ्न सकिन्छ।” एमाले नेता गोकुल बास्कोटा लेख्छन्, “फुट र प्रतिगमन दुबै पराजित, विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो। चोट पछि चेत आउने यसरी नै हो।”

प्रचण्ड प्रधानमन्त्री बनेपछि राजनीतिक परिस्थिति नयाँ बनेको छ। यसका पछाडि धेरै कारणहरू होलान, तर पहिलो र मुख्य कारण दक्षिणपन्थीहरूको ‘विभाजन र शासनको नीति’ बाट पीडित नेकपा एमाले र गिर्दो साख जोगाउनु पर्ने माओवादी केन्द्र र त्यसका नेताहरूको छटपटि नै हो। दुबै पक्ष यो अवस्थाबाट बाहिर आउन चाहन्थे तर परिपक्व परिस्थिति बनेको थिएन। नयाँ सत्ता समिकरण बन्ने परिस्थिति बन्नुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अडानले सहयोग गर्यो। जसलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुशलतापूर्वक उपयोग गर्ने कौशलता देखाए। पहिले सत्ताले फुटाएको ओली र प्रचण्डलाई अहिले सत्ताले नै जुटायो भन्नु अतिशयोक्ति नहोला।

परिस्थिति बदलिएको छ, अब राजनीतिक नेतृत्वले आफ्नो मनस्थिति पनि बदल्नु पर्ने राजनैतिक माहौल बनेको छ। यसलाई खासगरी नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अन्तरमनदेखि स्विकारेर कार्यगत मोर्चा बनाउँदै पार्टी एकीकरण गर्ने ढंगले अघि बढ्न तयार हुनुपर्छ। तर अन्य विकल्प खोजिनु हुन्न। गएको डेढ वर्षमा जे–जस्तो हण्डर र ठक्कर खाएर केपी ओली र प्रचण्ड फेरि वाम गठबन्धन बन्ने ठाउँमा पुग्नुभयो। अब यो वाम गठबन्धनबाट बनेको सरकारलाई सफल बनाउनु दुबै दल एमाले र माओवादी केन्द्रका नेताहरूको दायित्व हो। पद कै लागि मिल्ने र पद कै लागि फुट्ने गलत परम्पराबाट नेताहरू मुक्त हुनुपर्छ। अनिमात्र नेपालको राजनीतिलाई नकारात्मक लोकप्रियतावाद र दक्षिणपन्थी अवसरवादबाट जोगाउन सकिने छ।

बालकोटको राजनीतिक मेलाको सफलताले नेपाली कांग्रेस आन्तरिक झमेलामा फस्ने सम्भावना बढेको छ। यसको संकेत नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङको भनाईले पुष्टी गरेको छ। गुरूङ भन्छन्, “प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर नेतृत्व प्रदान गर्न सक्ने कला, क्षमता भएको नेता नै राजनेता बन्छ भनेर पार्टीको प्रशिक्षकहरूले भन्दै आए। तर ‘ ! ” यतिखेर ‘बा’को बार्दलीबाट प्रचण्डको सिंहदबारको यात्रा अनि बालुवाटारको बास सुरू भएको छ भने सरकारको न्युनतम साझा कार्यक्रम बनाउनका लागि केपी ओलीको नेतृत्वमा समिति बनेको छ। नेकपा एमालेले पनि आफ्नो नेतृत्वमा बनेको नयाँ सत्ता समिकरण बलियो बनाउने गतिविधिहरूमा व्यस्त भएको देखिन्छ। अहिलेको राजनीतिमा एकातिर एमालेका सामु प्रचण्डको नेतृत्वको सरकार सफल बनाउनु पर्नेछ भने अर्कातिर बहरजस्ता सहयात्रीहरूलाई दाउनु पनि पर्नेछ।

नकारात्मक लोकप्रियतावादलाई लिएर विश्लेषक डम्बर खतिवडा लेख्छन्, “नेपाली राजनीतिको मुख्य समस्या हिजो शस्त्रीय जडता र अवसरवाद थियो। आज पपुलिज्म बनेको छ। शास्त्रीय जडता पराजित भईसक्यो। अबको लडाइँ अवसरवाद र पपुलिज्म विरुद्ध हो, हुनुपर्छ। कार्यसम्पादन क्षमताहिनता भने हिजो पनि आज पनि उस्तै छ। अब अवसरवाद, असक्षमता र पपुलिज्मसँग जमेर लड्नु पर्छ।” बजारमा मान्छेहरू रबि लामिछानेको नागरिकता खै भन्दैछन्। तर चरित्र के हो प्रश्न गर्दैनन्। राष्ट्रिय पहिचान र जीवनसाथी बदल्न कुनै संकोच नमान्ने पात्रबाट ठूलो अपेक्षा नगरौं। चौथो राजनीतिक शक्तिका रूपमा उदय भ्रमको उपज हो भन्ने कुरा अझै पनि हामीले बुझ्न सकिरहेका छैनौं। हिजो विधिको कुरा गर्ने रबि लामिछानेले आज विधि मिचेर विधिको पालना गर्छु र गराउँछु भन्दैछन्।

रबि लामछाने गृहमन्त्री बनेपछि सामाजिक सञ्जालमा जनक पौडेलले लेखेका छन् “रबि लामिछाने विधिको शासनको घण्टी बजाएर चुनाव जित्नासाथ विधिलाई लत्याउने पात्र भएर निस्किए। नागरिकता सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ, गृहमन्त्री नै पड्काए। ‘कन्ल्फिक्ट अफ ईन्ट्रेस्ट’ हुनुहुँदैन् भन्ने कुरा विधिको शासनमा न्युनतम सर्त होइन ? ढोँगीहरू ! ” त्यस्तै रबि लामिछानेप्रति व्यंग्य गर्दै यादव देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, “सामान्यतया आरोप लागेपछि त्यसउपर छानविनमा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर लाभको पदबाट राजीनामा दिने चलन छ। निलम्बनमा बस्ने चलन छ। तर, यहाँ त छानबिनमा प्रभाव पार्ने पद गै रोजेर मन्त्री हुने पो देखियो। यसैलाई होला नयाँ नीति र थितितिर देश लाने भनेको। झण्डा पो फरक हजुर, धन्दा त उही हो।”

त्यसैले अन्तमा भन्नुपर्छ, “अस्थिर र त्रसित दिमागले स्थिर र भयरहित राजनीतिको परिकल्पना गर्ने र विधिसम्मत सुशासनको सामर्थ्य राख्दैन्। राजनीतिमा बहरहरू समस्या समाधानका असल माध्यम बन्न सक्छन् भन्नु हाम्रो बुझाईमा कमजोरी थियो। त्यस्ता नकारात्मक पात्रहरूबाट नेपालको राजनीति जोगाउनु पर्ने चुनौती बढेको छ। नयाँ जोगीले बढी नै खरानी घस्छ। अहिले नै वाहवाही गर्नु आवश्यक छैन्। जसको परिचय नै विवादित छ र चरित्र नै शंकास्पद छ, ति पात्रहरूबाट धेरै आसा गर्न पनि हुन्न। त्रिशंकु संसद भन्दा यस्ता खराब र विवादित पात्रहरू राजनीतिमा कहिलेकाही निर्णायक हुन्छन्, जुन यसपाली भयो। अर्कों जनादेश नआएसम्म यस्तै हुने हो। यसर्थ, हामीले बुझ्नुपर्छ, हलेदो भनेर थाहा पाएपछि कोट्याउनु आवश्यक छैन् किनभने सत्य निकट भविष्यमा प्रकट हुने नै छ।