६ बैशाख २०८१, बिहीबार 1713500787
Banner

आज महाशिवरात्री देशभरका मन्दिरमा दर्शनार्थीको भीड, १० लाख भक्तजनले पशुपति दर्शन गर्ने अनुमान

काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । यसबर्ष १० लाख भक्तजनले पशुपति दर्शन गर्ने कोषको अनुमान छ ।

मन्दिर दर्शनका लागि तीनवटा दर्शन मार्ग व्यवस्था गरिएको छ । गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ भने मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एअरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको विकास कोषले जनाएको छ ।

गाडीको व्यवस्थापनका लागि पाँच ठाउँ कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाइएको छ । पशुपति क्षेत्रमा ५० लाख बराबरको बिजुली बत्ती र फूलले सजाइएको छ । दाताहरूको सहयोगमा बिजुली तथा फूलले सजावट गरिएको हो ।
ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ ।
वेदविद्याश्रमका ब्राहमणहरुले आजदेखि रुद्ध्राभिषेक शुरु गरेका छन् । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।

पशुपतिनाथसँगै आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।