२० माघ २०७९, शुक्रबार 1675476209
फिचर

सन्दर्भ दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस: एक्लिएका छन् ज्येष्ठ नागरिक

जवानीमा अनेकन घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिकहरु जीवनको उत्ताद्र्धमा एक्लो महसुस गर्दै आएका छन् । “मेरो तीन छोरा, दुई छोरी, मलाई असाध्यै माया गर्ने श्रीमती थिइन्”, दोलखा घर भई हाल काठमाडौँको कोटेश्वरमा बस्ने ७५ वर्षीय रामबहादुर बुढाथोकीले भन्नुभयो, “श्रीमती बितेको चार वर्ष भयो, छोरा कोही विदेशमा छन्, केही जागिरे छन्, छोरी आफ्नो घरघरमा छन्, म एक्लै छु ।” उमेर बढ्दै, शक्ति घट्दै गए पनि आफन्त पनि विस्तारै टाढिने गरेको उहाँको भोगाइ छ । “मैले पाँच वटा बच्चा कसरी हुर्काएँ, बढाएँ, पढाएँ होला”, उहाँले विगत सम्झँदै भन्नुभयो, “मेरो कारणले छोराबुहारीको सधँै झगडा हुने भएपछि मैले घर छोडे र अहिले एक्लै बस्छु ।” उहाँले वृद्धाभत्ताले कोठा भाडा तिर्ने र खाने गर्दै आउनुभएको छ । केही नपुगेका अवस्थामा सरसामान किनिदिने छोराछोरीले पनि गर्छन् । तर एक्लै बस्नुपर्दा उहाँलाई बेचैन लाग्छ । जीवन केही रहेन छ जस्तो लाग्छ । ऊर्जामय जीवन सकिँदै गएर आफूले पनि काम गर्न नसक्ने र परिवारको पनि बेवास्ताको पात्र बन्नुपर्ने अवस्था रामबहादुरको मात्रै होइन ।

सिन्धुपाल्चोककी ६८ वर्षीय धनकुमारी थापाले एक्लै जीवन बिताउन थालेको पनि १० वर्ष भयो । सिन्धुपाल्चोकमा पहिरोमा परेर घरबार बिहिन भएर काठमाडौँको चाबहिलमा बस्दै आउनुभएकी उहाँले गाडामा तरकारी व्यापार गर्नुहुन्छ । “पहिराले घर भत्काउँदा श्रीमान् पनि बित्नुभयो, छोरी पनि त्यहीँ परिन्, एउटा छोरा च्यापेर काठमाडौँ आएँ”, उहाँले आँखाभरि आँसु पार्दै भन्नुभयो, “सुरुका दिनमा कति दुःख पाइयो, सम्झ्यो भने मुटु भक्कानिएर आउँछ, सुनाउन सक्दिन, मैले छोरालाई साग बेचेरै पढाएँ ।” एकल महिलाले पाउने भत्ताले गर्दा पनि उहाँलाई जीवन जिउन सहज भयो । उहाँका छोराबुहारी काम गर्न जान्छन । उहाँ पनि गाडामा तरकारी बेच्नुहुन्छ । तर अहिले केही समयदेखि गाडामा तरकारी बेच्न महानगरले नदिएपछि उहाँ बेकामे हुनुभएको छ । “तरकारी बेच्दा सबैसँग बोलिन्थ्यो, दुःख पीर सबै बिर्सिन्थ्यो, तर अहिले म त्यतिकै बस्छु, बोल्ने मान्छे पनि कोही छैन, दिक्क लाग्छ, कहिलेकाही बाहिर निस्किएर हिड्छु”, उहाँले थप्नुभयो, “जीवन निराश लाग्छ, कोहीसँग बोल्नु छैन, केही काम गरौा भने शक्ति छैन ।” रामबहादुर र धनकुमारीजस्तै आजभोलि धेरै ज्येष्ठ नागरिकले एक्लोपनको महसुस गरिरहेका छन् । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको धेरैजसो सम्भ्रान्त परिवारमा ज्येष्ठ नागरिक एक्लिएको अनुभव छ । “घरमा काम गर्ने मान्छे राखिदिने, पैसा छ, सम्पत्ति छ तर आफ्नो मनको दुःख पीडा साट्ने मान्छे छैन”, उहाँले भन्नुभयो, “धेरैजसो सम्भ्रान्त परिवारमा ज्येष्ठ नागरिक एक्लिएको मलाई अनुभव छ, मनको कुरा सुनाउने साथी नहँुदा अनेकन खालका रोग लाग्ने मानसिकरुपमा समस्या हुने देखिएको छ ।” राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका श्रेष्ठको पहलका तत्कालीन ओली सरकारको पालनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतो हुँदा मन्त्रिस्तरीय निर्णयबाट यो दिवस मनाउन सुरु गरिएको हो । “यो दिवस मनाउनुको पनि कारण छ, ज्येष्ठ नागरिकलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० सामाजिक सुरक्षा भत्ता मासिक दिने निर्णय गर्नुभएको थियो”, उहाँले थप्नुभयो, “त्यही सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको दिनलाई नै ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।” ज्येष्ठ नागरिकलाई सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले धेरै राहत भएको छ ।

जस्ले गर्दा जीवनको अन्तिम अवस्थामा सामाजिक सुरक्षा भत्ताले राम्रो सहयोग गरेको छ । “भत्ताले धेरै राहत भएको छ, कसैसँग हात फैलाउनुपर्ने अवस्था छैन”, वरिष्ठ कलाकार श्रेष्ठले भन्नुभयो, “कतिपय ज्येष्ठ नागरिकले नागरिकता नभएका कारणले पनि भत्ता पाउन सकेका छैन, त्यसका लागि मैले पनि पहल गरिरहेको छु, वडाबाटै व्यवस्था गरे राम्रो हुने थियो ।” महासङ्घको तथ्याङकअनुसार करिब एक सय ५० ज्येष्ठ नागरिकले नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छन् । ज्येष्ठ नागरिकलाई यातायातमा र स्वास्थ्यमा ५० प्रतिशतको व्यवस्था गरेको भए पनि त्यो प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । नेपालको कानुनले ६० वर्षमाथिकालाई ज्येष्ठ नागरिक मानेको छ भने सामाजिक सुरक्षा पाउने ७० वर्षदेखि थियो । तर, यस आर्थिक वर्षबाट ६८ वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्रबहादुर प्रधानलाई पनि ज्येष्ठ नागरिकको सबैभन्दा ठूलो समस्या एक्लोपना भएको अनुभव छ । “छोराछोरी विदेश वा आ–आफ्नै परिवारसँग हुने, भएकाले पनि चासो दिएर कुराकानी नगने पाइएको छ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकमा एक्लोपना महसुस भएको छ, परिवारबाट पनि सम्मान छैन, काम नलाग्नेजस्तो हिसाबले हेरिन्छ ।” जवानीमा पैसा कमाइञ्जेल सबैको प्यारो रामो हुने तर उमेर ढल्कदै, कमाउन नसक्ने हुँदै जादा सबैबाट हेला सहनुपर्ने अवस्था छ । “जागिर भइञ्जेल, पैसा कमाएर दिन सकिञ्जेल सबैले मान्ने तर पछि नमान्ने अवस्था देखिएको छ”, उहाँले थप्नुभयो, “पुस्तान्तरणले गर्दा पनि एकले अर्कालाई नबुभ्mने समस्या देखिएको छ, बाबुआमाले छोराछोरी नबुझ्ने र छोराबुहारीले बाबुआमा नबुझ्ने जस्तो देखिएको छ ।” सामान्य असमझदारीमा नै परिवार छुटिएर बस्ने व्यवहारले ज्येष्ठ नागरिकले कठिनाइ भोग्नुपरेको छ । नेपालको जनगणना २०६८ अनुसार नेपालमा १.१३ प्रतिशत (करिब २५ लाख) ज्येष्ठ नागरिक थिए भने २०७८ को जनगणनामा करिब ३३ लाख पुगेको छ । अध्यक्ष प्रधानका अनुसार वृद्धाश्रममा राखिएका कतिपय ज्येष्ठ नागरिकसँग नागरिकता नहँुदा राज्यबाट पाउने सुविधा पनि पाउन सकेका छैनन् । “परिवारभित्र ज्येष्ठ नागरिक अटाउनुपर्छ, परिवार भनेको चाहिँ श्रीमान्, श्रीमती, छोरा, छोरीमात्रै भन्नेजस्तो भयो”, उहाँले जोड्नुभयो, “त्यो परिवारले आमाबुबा समेट्नुपर्छ, आमा बुबालाई पन्छाउने होइन, माया, सम्मान र उहाँहरुको अनुभवबाट सिक्नुपर्यो ।” ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको अहिलेसम्म पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन गर्नुपर्ने माग गर्दै अग्रज समाज नेपालको नेतृत्वमा ज्येष्ठ नागरिकले पाँच वर्षदेखि माग गर्दै आएका छन् । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री अधिकारीले एकसय रुपैयाँबाट सुरु गर्नुभएको वृद्धाभत्ता स्वास्थ्योपचार खर्चसहित अहिले चार हजार पुगेको छ । त्यसले ज्येष्ठ नागरिकलाई धेरै राहत पुगेको छ ।

नेपाल संविधानको मौलिक हकअन्तर्गत धारा ४१ मा ज्येष्ठ नागरिकको हकमा, ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी व्यवस्था गरिएको छ । महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मन्त्री उमा रेग्मीको कार्यकालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई पहिलो संशोधन गर्न बनेको ऐन २०७९ संसद्बाट पास भएको छ । यस ऐनअनुसारको नियमावली मन्त्रालयमा अन्तिम चरणमा पुगेको छ । स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेमा र अलपत्र परेमा स्थानीय तहले हेरचाह केन्द्रमा राखी व्यवस्था गर्नुपर्नेछ । त्यस्तो अवस्थामा उनीहरूसँग भएको जायजेथा वा अंश भाग स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई ज्येष्ठ नागरिकका लागि परिचालन गर्नेछ व्यवस्था गरेको छ । मन्त्री रेग्मीले आफन्तबाटै ज्येष्ठ नागरिक अपहेलित हुँदै गएकाले कानुनीरुपमै व्यवस्था गर्नु परेको बताउनुभयो । ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ आज देशभर ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले अक्टुबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव १९९० डिसेम्बर १४ मा पारित गरेर १९९१ को १ अक्टुबरदेखि यसका सदस्य राष्ट्र नेपाललगायतले विभिन्न कार्यक्रमका साथ मनाउन थालेपछि विश्वभर नै १ अक्टुबरलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइने गरिन्छ । आजका दिनसम्म हामी प्रत्येक वर्ष ज्येष्ठ नागरिक दिवसलाई विभिन्न अन्तर्राष्ट्रिय र विश्व दिवसका नाममा मात्र सीमित रहेर मनाउँदै आइरहेको थियो । गतवर्षदेखि नेपालले पनि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालेको हो । नेपालका सन्दर्भमा २०६० सालदेखि नै ज्येष्ठ नागरिकको सवाललाई विजारोपण गर्ने र ज्येष्ठ नागरिकको हकअधिकारको संरक्षण र सम्वद्र्धनका लागि सरोकारवाला निकायसंग हातेमालो गर्ने कार्यमा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले भूमिका खेल्दै आएको छ । नेपालमा ज्येष्ठ नागरिकको हकहित, संरक्षण, सम्वद्र्धन र ज्येष्ठ नागरिकलाई प्राप्त अधिकारका विषयमा पैरवी गर्ने दिनका रूपमा राष्ट्रिय ज्येष्ठ नागरिक दिवसलाई चिनिने हुँदा ज्येष्ठ नागरिक स्वयंले आफ्नो विशेष दिन रहेकामा गौरवको अनुभूति गर्ने उद्देश्ले यो दिवस मनाउन थालिएको हो । ज्येष्ठ नागरिकबीच हुने भेटघाट, छलफल, बहस तथा अन्तक्र्रियाले ज्येष्ठ नागरिकका समस्या पहिचान गरी राज्यलाई नीति तथा कार्यक्रम तर्जुमा गर्नमा टेवा पु¥याउनेछ । राज्यले प्रदान गरेका सेवा, सुविधा र ज्येष्ठ नागरिकको समस्या समाधान गर्नमा राज्यले पहल गरेका कदमलगायतका विषयमा ज्येष्ठ नागरिकलाई सुसूचित गराउने र विभिन्न चिन्ता र पिरबाट ग्रसित ज्येष्ठ नागरिक समकालीन दौतरीसँगको एकआपसमा भेटघाट, भलाकुसारी र अनुभवको आदानप्रदानले उनीहरूको जीवन सुखी र स्वस्थसँग बिताउन आत्मबल बढेर आनन्द महशुस हुने गरिएको छ । रासस