२०७९ मंसिर २४ शनिबार 1670674930
Banner

प्रचण्ड–माधव, एमसीसी र हात्तीको कथा

निर्मल भट्टराई

कथाकार स्लोमिर म्रोजेकले सन १९६२ मा हात्ती शीर्षकको एक कथा लेखे । कथाको सारांश यसप्रकार छः एउटा प्राणी उद्यानमा सबै प्रकारका बन्यजन्तु राखिएका थिए । तर त्यहाँ हात्ती राख्न सकिएको थिएन । देशको मुक्ति दिवशको दिन सो उद्यानलाई सरकारले एउटा हात्ती उपहार दिने निर्णय गर्‍यो । उद्यानमा हात्ती आउने खबरले त्यहाँका कर्मचारीहरू विछट्ट खुसी भए । तर प्राणी उद्यानका कर्मचारी त्यतिबेला झन चकित भए, जतिबेला तिनीहरूले उद्यानको कार्यकारी निर्देशकले केन्द्रमा हात्ती किन्न र पाल्न सस्तो तरिका अपनाउनु पर्ने आशयको पत्र पठाए । उसको प्रस्ताव थियो, वास्तविक हात्ती किन्न र पाल्न ठूलो खर्च लाग्ने भएकोले र ठाउँको समेत अभाव हुने भएकोले बरू त्यसको ठाउँमा ठीक साइजको रबरको हात्ती राखिनु उपयुक्त हुन्छ । त्यसलाई हात्तीकै रङ लगाएर रेलिङमा ढड्याएर राखिनेछ । र त्यसको अगाडि एउटा सूचना टाँसिनेछ ‘यो हात्ती लोसे छ’ । वास्तविक हात्ती किन्ने पैसाले जेट किन्न सकिन्छ ।

मन्त्रालयको कर्मचारीले खर्च घटाउने कार्यकारी निर्देशकको उक्त राम्रो प्रस्ताव तुरुन्त स्वीकृत गरि दियो । उद्यानमा रबरको हात्ती बनाउने काम शुरू भयो । यसमा समस्या के थियो भने जनतामा हात्तीको आगमनबारे जानकारी भइसकेको र उनीहरू हात्ती हेर्न बढी नै उत्सुक भएकोले रबरको हात्ती बनाउने काम राती कसैले नदेख्ने गरी गर्नु पर्ने भयो । एउटा गोप्य निर्माणस्थलमा दुईजना कर्मचारी त्यो हात्ती बनाउने रबरलाई दुईतिरबाट फुक्न थाले । घण्टौं फुक्दा पनि पार नलागेपछि हात्ती फुलाउने उपाय खोज्न थाले । नजिकै ग्याँस पाइप देखेका उनीहरूले हात्तीमा ग्याँस भर्ने विचार गरे । ग्याँस पाइप जोडेको केही मिनेटमै रबरको हात्ती तयार भयो । यो काटीकुटी वास्तविक हात्ती नै थियो । भोलिपल्ट विहान सो हात्तीलाई तयार गरिएको स्थानमा सारियो । हात्ती नजिकै सूचना लेखियो,निक्कै लोसे हात्ती, प्रायः चल्दैन।

भोलिपल्ट विहानै एक हुल विद्यार्थी लिएर त्यहाँ एक शिक्षक अवलोकन भ्रमणको लागि आए । हात्तीको बारेमा उनी विद्यार्थीलाई पढाउन थाले । ‘हात्ती एउटा शाकाहारी स्तनधारी प्राणी हो, यसले आफ्नो सूँडको सहायताले सानातिना रूख तान्छ र पातहरू खान्छ । यो ह्वेल माछापछिको दोश्रो र जमिनमा पाइने सबैभन्दा ठूलो प्राणी हो।’ विद्यार्थी खुरूखुरू नोट बनाउँदै थिए । उनीहरू हात्तीले कहिले नजिकैको रूखको हाँगा भाँच्ला भनेर पर्खेर बसे ।
त्यही बेलामा अलिअलि हावा चल्यो, रूखका पात हल्लिए ।

शिक्षकले भने, ‘एउटा पूरा विकसित हात्तीको तौल दशदेखि तेह्र हजार पाउण्ड हुन्छ ।’
अचानक हात्ती जुर्मुरायो र हावामा उड्न थाल्यो । केही समय त्यो आकाशमै विचरण गरिरह्‍यो । हावा शान्त हुनेवित्तिकै हात्ती जमिनमा खस्यो, सिउँडीको झ्याँङमा पर्‍यो र हावा खुस्क्यो ! 

दत्तचित्त भएर हात्तीको बारेमा पढिरहेका विद्यार्थी नोट फालेर गुण्डागर्दीमा उत्रिए । तिनीहरूले टन्न पिए, झ्यालका शिसा फुटाए ।
एमसीसीको विषयलाई माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तै रबरको हात्ती बनाए । पहिले शेरबहादुर देउबासंग मिलेर एमसीसीलाई नेपालमा भित्र्याए । अमेरिकासंग सम्झौता गरे । पछि नेपालको आन्तरिक राजनीति र खासगरि तत्कालीन नेकपाको आन्तरिक राजनीतिमा उनले एमसीसी फुकिरहे ।

एमसीसीलाई देखाएर आफू निख्खर राष्ट्रवादी बाँकी अरू राष्ट्रघाती बनाउने बाहिर–बाहिर प्रपञ्च गरिरहे । आफूले राम्ररी फुक्न नसकेपछि माधव नेपाललाई समेत साथ लिए । राजावादीहरूको साथ लिए । त्यति गर्दा पनि रबरको हात्तीरूपी एमसीसी आफ्नो स्वार्थ अनुकूल नफुकिएपछि पछिल्लो चरणमा छिमेकी चीनलाई समेत फुक्न लगाए ।

जनताको बलमा बनेको कम्युनिष्ट सरकारलाई प्रतिगामी करार गरेर शेरबहादुर देउबालाई आफ्नो राजनीतिको गडफादर बनाएका प्रचण्ड सत्ता र गठबन्धनको लोभमा एमसीसीलाई संसदबाट जस्ताको तस्तै पारित गराउन सहमत भएका छन् । एमसीसीको विरोधमा सडकमा उत्रिएका आफ्ना कार्यकर्तालाई वेखबर छोडेर उनी एमसीसीको पक्षमा उभिएका छन् । र,खुबै फुलाइएको एमसीसीको व्याख्यात्मक घोषणाुको सिउँडीमा परेर आज हावा खुस्किएको छ । एमसीसीको भुङ्‌ग्रोमा एमालेलाई पोल्ने षणयन्त्र समेत समाप्त भएको छ ।

एमसीसीको सन्दर्भमा प्रचण्ड र उनका सहयोगी माधव नेपालले जतिसुकै नौटङ्‌की प्रदर्शन गरे पनि उनीहरूले एक्काइशौं शताब्दीका नेपाली जनतालाई मुर्ख भने अवश्य बनाउन सक्ने छैनन् । आफूले गरेका हरेक कामलाई ‘अग्रगामी छलाङ’को रूपमा व्याख्या गर्ने प्रचण्ड आफूले खनेको खाल्डोमा आफैं परेका छन् ।

एमसीसीलाई भँजाएर ठूलै राजनीतिक लाभ लिने प्रचण्ड योजना फ्लप भएको छ । माधवमण्डलीको हुर्मत भएको छ । एमसीसीलाई विगतमा अनावश्यक उछालपछाल गर्ने र अहिले उफ्रेर अनुमोदन गर्नेहरूले आगामी दिनमा देख्नेछन्उनीहरूको राजनीतिको हावा पनि उल्लिखित रबरको हात्तीको हावाजस्तै खुस्किसकेको छ ।