३ जेष्ठ २०८१, बिहीबार 1715871645
Banner

अफगान सेनाको आक्रमणमा सात जना सर्वसाधारण मारिए

अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा आइतबार गरेको सीमापार आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र पाकिस्तानको बीचको सम्बन्धमा तनाव थपिएको छ ।

दक्षिणपश्चिमी पाकिस्तानको चमनमा भएको यो घटनाले इस्लामावाद र काबुलका तालिबान शासकबीचको तनावलाई बढाएको छ । चमन दुई देशबीचको व्यापारका लागि मुख्य नाका हो । घटनापछि बन्द भएको द्विपक्षीय आवागमनको नाका आज पुनः खोलिएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार शाखाले अफगानी आक्रमणमा छ जनाको मृत्यु भएको बताए पनि पछि मृत्यु हुनेको सङ्ख्या सात पुगेको तथा अन्य १६ जना घाइते भएका जनाएको छ । पाकिस्तानी सेनाले अफगानिस्तानको आक्रमणई जवाफ दिएको बताए पनि थप विवरण उपलव्ध गराएको छैन । आक्रमणको विरोध गर्दै पाकिस्तानले काबुलका अधिकारीहरूसँग सम्पर्क गरेको छ ।

चमनमा सञ्चालित सरकारी अस्पतालका चिकित्सक अख्तर मोहम्मदले २७ जना घाइतेलाई उपचारका लागि अस्पतालमा ल्याइएको तथा तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताएका छन् । झडपका क्रममा एकजना तालिबानी पनि मारिएका र १० जना अफगानी घाइते भएका छन् ।