८ बैशाख २०८१, शनिबार 1713636825
पर्यटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्यास गरेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगायत गरी छ सय जना उद्धार अभ्यासमा सहभागी भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता अनुप जोशीले बताउनुभयो । उहाँका अनुसार यस्तो खालको उद्धार अभ्यास हरेक दुई–दुई वर्षमा गर्ने गरिए पनि विमानस्थल सञ्चालनमा ल्याउनुअघि पहिलोपटक गरिएको हो ।

जोशीले भन्नुभयो, “विमानस्थलमै जहाज दुर्घटना भएको अवस्थामा उद्धारका कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पूर्वअभ्यास गरिएको हो । घटनापछि त्यसलाई कसरी ‘ह्याण्डल’ गर्ने र जनधनको क्षति कमका लागि यस्ता अभ्यासले सघाउ पुग्दछ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) गत मङ्सिर ५ गतेदेखि १२ गतेसम्म गरिएको थियो । यान्त्रिक उडान परीक्षणको प्रतिवेदन प्राप्त भइनसकेको प्रवक्ता जोशीले बताउनुभयो । विमानस्थल सञ्चालनको चुनौतीका रूपमा रहेको रिठ्ठेपानीडाँडा कटानको काम सुरु भए पनि ल्याण्डफिल साइट स्थानान्तरण अझै हुनसकेको छैन । रिठ्ठेपानीको ४० मिटरमध्येमा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने विश्वास रहेको प्राधिकरणले जनाएको छ । पोखरा महानगरले विमानस्थल नजिकको ल्याण्डफिल साइट हटाउने प्रतिबद्धता जनाए पनि अझै सोही स्थलमै फोहोरमैला विसर्जन हुँदै आएको छ । महानगरले ल्याण्डफिलका लागि महानगरका विभिन्न वडामा स्थान खोजी गरे पनि टुङ्गोमा पुग्न सकेको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ निर्माण कम्पनी सिएएमसीईले निर्माण गरेको हो । यसअघि गत वर्ष चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेलामा विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलका लागि विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल निर्माण सुरु भएको थियो । विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।