८ बैशाख २०८१, शनिबार 1713636593
Banner

महाशिवरात्रीको पूर्वसन्ध्यामा आजदेखि टिकट लिने कार्य शुरु, वेदआश्रमका वटुकहरुले रुद्धाभिषेक गर्ने

काठमाडौै । महाशिवरात्री पर्व नजिकिदै गर्दा पशुपति क्षेत्र विकास कोषले आजदेखि दर्शनका लागि टिकट बुकिङ्ग खुला गरेको छ । शिवरात्रीमा विशेष पूजाको रसिद काटेर मात्र पूजा गर्न पाईने व्यवस्था अनुरुप आजदेखि प्रवेशका लागि अग्रिम टिकट लिने कार्य सुचारु गरिएको परिषदका सदस्य रमेशराज शिवाकोटीले सूचनाप्रेसलाई बताउनुभयो । महाशिवरात्रीका लागि पाँच हजार भन्दा माथिको रसिद काट्ने र विशेष पूजा गर्न दिइने उहाँले बताउनुभयो । महाशिवरात्री कै अवसर पारेर यसबर्षदेखि ११ जना वेदआश्रमका विद्यार्थीहरुले दैनिक रुद्राभिषेकको थालनी गरिने शिवाकोटीले बताउनुभयो ।

महाशिवरात्री भव्य बनाउन १० वटा उपसमिति गठन गरेर तयारीका काम तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो । कोषले सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरेको छ ।

यसवर्ष महाशिवरात्रीको अवसरमा देशविदेशबाट १० लाखभन्दा बढी भक्तजनहरु आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । गत वर्ष कोरोनाले शिवरात्री सुनसान बनेपछि यो वर्ष धेरै भक्तजन आउने अनुमान गरिएको हो । यतिबेला पशुपतिनाथ मन्दिरमा साधुसन्तको आगमन पनि सुरु भइसकेको छ । शिवरात्रीकै लागि भारत र मलेशियाबाट झण्डै दुई हजारको हाराहारीमा साधुसन्त आउने कोषको अनुमान छ । दर्शनका लागि आउने श्रद्धालुभक्तजनको सुविधाका लागि विभिन्न चारस्थानबाट चन्दन वितरण गरिने शिवाकोटीले बताउनुभयो । मन्दिर दर्शनसँगै चन्दन लिने भिड बढने र कोरोनाको जोखिमपनि हुन सक्ने भएकाले यसबर्ष गौशाला चोक, जयवागेश्वरी चोक, उमाकुण्ड र पिंगलास्थान वाहिर नै चन्दन लिन सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

विगतभन्दा यो वर्ष धेरै भीडभाड हुने देखिएपछि कोषले सुरक्षा व्यवस्था पनि कडा पारेको छ । सुरक्षाका लागि नेपाल प्रहरीबाट पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने कोषले जनाएको छ । त्यसैगरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र नेपाल स्काउटका स्वयंसेवक पनि शान्तिसुरक्षामा संलग्न हुने कोषको भनाइ छ । शिवरात्रिलाई लक्षित गदै पशुपति क्षेत्रका खाली भित्ता भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षित बनेको छ । पशुपति क्षेत्रलाई झिलीमिली बनाउने काम धमाधम भइरहेको परिषदका सदस्य शिवाकोटीले बताउनुभयो ।