१२ बैशाख २०८१, बुधबार 1714011093
Banner

दल दर्ताको समय आज सकिदै, हिजोसम्म ६४ वटा दल आयोगमा दर्ता

काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले दिएको दल दर्ताको समय आज सकिदैछ । हिजोसम्म आयोगमा ६४ वटा दलले दर्ता गरेको प्रवक्ता शालिग्राम शर्मा पौडयालले जानकारी दिनुभयो । आज अपरान्हसम्म दल दर्ताको समयावधि रहेको उहाँले बताउनुभयो ।

राजनीतिक दलहरु निर्वाचन प्रयोजनका लागि दर्ताका लागि आउने क्रम जारी रहेको उहाँले बताउनुभयो।

आयोगले २०७९ साल वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ताका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिम ढाँचामा ५ देखि १५ फागुनसम्म दल दर्ताको निवेदन दिन आयोगले आह्वान गरे बमोजिम आयोगमा दर्ता भइसकेका दलहरुले निर्वाचन प्रयोजनका लागि दर्ता गरेका हुन्। स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीले (लोसपा)ले मात्रै पहिलेदेखि नै प्रयोग गर्दै आएको चुनाव चिह्न पाउने छन्।

राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार राष्ट्रिय पार्टी ६ बाहेक अरू दलले आफूले प्रयोग गर्दै आएको चुनाव चिह्न रोज्न पाउने छैनन्। उनीहरू निर्वाचन आयोगले दिएको नयाँ चुनाव चिह्नबाट चुनावमा लड्नु पर्नेछ। ऐनअनुसार गत प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फबाट एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसकेका दल राष्ट्रिय दलमा दर्ज हुन सक्दैनन्।
दल दर्ताका लागि दलको सम्पूर्ण विवरण, पदाधिकारी र केन्द्रिय समति प्रदेश र जिल्लाको पदाधिकारी सदस्य, निर्वाचनबाट चयन भएका केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारीको विवरण, आयोगमा दलले पेश गरेको बार्षिक लेखा परीक्षण, दलको निर्वाचन चिन्ह, तथा यस अगाडि निर्वाचनमा लिएको चिन्ह परिर्वतन गर्न परेमा तीन वटा आफूले चाहेको निर्वाचन चिन्ह पेश गर्नुपर्ने प्रावधान छ। त्यस्तै केन्द्रीय समितिबाट दल दर्ता गर्ने निर्णय भएको प्रतिलिपी दलको विधान तथा घोषणपत्र निर्वाचन चिन्हको नमूना र विद्युतीप्रति समेत पेश गर्नुपर्ने आयोगले स्पष्ट भनेको छ। संविधानको धारा २७१ को उपधारा २ बमोजिमका सर्तहरु समेत पूरा गरेपछि मात्रै दलहरु निर्वाचनमा भाग लिन पाउने छन्।