२९ बैशाख २०८१, शनिबार 1715438409
Banner

छात्राको मृत्युपछि धनगढी तनावग्रस्त, स्थानीय प्रशासनले लगायो निषेधाज्ञा

दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चाँदनी साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गरेका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रदर्शनका क्रममा भएको अराजक गतिविधि नियन्त्रण गरी सर्वसाधारण नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गर्न बिहीबार साँझ ७ बजेदेखि शुक्रबार विहान ७ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।