१३ बैशाख २०८१, बिहीबार 1714072271
कृषि

धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो

धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेशिनका कारण पाकेको धान झार्न सजिलो र छिटो पनि भएको छ । यसकारण यहाँका किसानका बीचमा यो मेशिन लोकप्रिय बन्दै गएको छ ।

थ्रेसरका प्रयोगकर्ता बर्सेनि बढ्दै गएका व्यवसायी विनोद दाहालले बताउनुभयो । पाँच वर्षअघिसम्म धान झार्ने मेशिन हुन्छभन्दा नपत्याउने किसान अहिले आफैँ प्रयोगकर्ता भएका उहाँले सुनाउनुभयो । खेतीको काममा पनि काम गर्ने जनशक्ति कम हुदै गएका बेला यो मेशिनको प्रयोगले किसानलाई सजिलो र छिटोसमेत हुन पुगेको उनीहरुको अनुभव छ ।   

दुधौली नगरपालिकाको स्थानीयबासीसमेत रहनुभएका व्यवसायी दाहालसँग दुई सिजनको धान झारेको अनुभव छ । “दुधौलीमा मात्रै अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बरले थे्रसर मेशिनको प्रयोगकर्ता बढेका छन्”, उहाँले भन्नुभयो, “थ्रेसर किनेको पहिलो वर्ष ५० जना कृषकको धान झारेको थियो, यो वर्ष एक सय जना कृषकको धान झारिसकेको छु ।”

जग्गा धेरै भएका, काम गर्ने जनशक्ति कम भएका कृषकले बढी थ्रेसर मेशिनको माग गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली थन्काउन सकिन्छ । पराल दाइँ गर्नुपर्ने, धान केलाइरहनुपर्ने झन्झट हुँदैन । धानबाली थन्काउन छिटो र सजिलो हुन्छ । धान झार्न मात्र होइन, जोत्न, रोप्न पनि मेशिनको प्रयोग गर्दा काइदा हुने उहाँको बुझाइ छ । 

यसकोे व्यवसायसमेत फस्टाएको उहाँले बताउनुभयो । “तीन लाख ५० हजारमा किनेको थ्रेसर मेशिनले धानबालीको सिजनमा घण्टाको तीन हजार कमाउँछ”, उहाँले भन्नुभयो, “उधारोमा काम गर्दिन, नगद मिलेन भने धानै लिन्छु ।” 

आधुनिक प्रविधिको विकाससँगै विकसित भएको कृषि प्रविधिको प्रयोगले खेती गर्नदेखि बाली थन्क्याउनसमेत सहज भएको दुधौली नगरपालिका–३ खुट्टेपानीका किसान लालबहादुर बोगटीले बताउनुभयो । 

गाउँगाउँमा भित्रिएको मेशिनले खेती गर्न सजिलो बनाएको उहाँको भनाइ छ । “पैसा भएपछि खेती गर्न गाह्रो छैन, रोप्नदेखि उत्पादन भित्र्याउनसम्म”, उहाँले भन्नुभयो । गत वर्षदेखि जोत्न ट्र्याक्टर, धान र गहुँबाली थन्क्याउन थ्रेसरको प्रयोग गर्दै आइरहनुभएको छ उहाँ । त्यसअघि अर्मपर्म तथा जन लगाएर खेती गर्दै आउनुभएको थियो । जनले कामको स्तरअनुसार दिनको छ सयदेखि एक हजारसम्म ज्याला लिने गर्दथे । 

आफूले बटयामा कमाउँदै आएको एक बिघाको धानबाली गत सोमबार थ्रेसरले नै झारेको उहाँले बताउनुभयो । “गाउँमा काम गर्ने खेताला पाउनै मुश्किल पर्छ । पाइहाले पनि ज्याला महँगो भन्छन् । मजदुरी लगाउँदा समय पनि धेरै लाग्छ”, उहाँले भन्नुभयो, “थ्रेसर लगाउँदा बिनाझन्झट धान ढिकुटीमा भित्र्याउन पाइयो ।” 

मजदुरी लगाएर धान झार्न लामो समय लाग्ने तथा जनशक्ति धेरै आवश्यकपर्ने भएकाले मेशिनप्रति सबैको आर्कषण बढेको उहाँले बताउनुभयो । थे्रसरले धान झार्न सजिलो भए पनि किसानले अलि महँगो शुल्क तिर्नु परेको उहाँको गुनासो छ । व्यक्तिपिच्छे फरकफरक मूल्य (तीन हजारदेखि चार हजारसम्म) तिर्नुपरेको उहाँले सुनाउनुभयो ।

दुधौलीमा जसरी जिल्लाको कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका र मरिण गाउँपालिकाका किसानले पनि कृषि प्रविधिको प्रयोग गर्न थालेका छन् । बाटो भएका फाँटमा ट्र्याक्टरले जोत्ने र ठूलो थ्रेसर मेशिनले धान झार्ने गर्दछन् ।