७ बैशाख २०८१, शुक्रबार 1713575672
राजनीति

१५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन उपेन्द्र यादवको निर्देशन

काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जम्मा ७ सिट जितेको जनता समाजवादी पार्टी (जसपा)ले चुनावी समीक्षा गर्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएका हुन् ।

जसपा र नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो । उसले प्रत्यक्षमा ७ सिट जितेको छ । तर पार्टीका केन्द्रीय अध्यक्ष यादवले नै हार व्यहोरेका छन् । अध्यक्ष यादवले प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई पत्र लेखेर जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठक राख्न भनेका छन् । निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई समेत राखेर विश्लेषणात्मक समीक्षा गरेर त्यसको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन यादवले निर्देशन दिएका छन् ।

यस्तो समीक्षा सत्यतथ्यमा आधारित र पूर्वाग्रहरहीत हुनुपर्ने अध्यक्ष यादवले उल्लेख गरेका छन् । निर्वाचनका बेला भएका सकारात्मक र नकारात्मक दुवै पक्षको विवरण उल्लेख गर्न निर्देशन दिइएको छ । नेतृत्वदायी भूमिकामा रहेका नेताहरुको सक्रियता कस्तो थियो भन्ने विषय पनि समावेश गर्न भनिएको छ ।