५ जेष्ठ २०८१, शनिबार 1716080141
राजनीति

बाम गठबन्धन बन्दैन, अहिलेकै गठबन्धनको निरन्तरता : नेकपा एस

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो ।

यद्यपी प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन र आफ्नो परिणाम सोचेजस्तो आउन नसकेको प्रारम्भिक समीक्षा गरेको छ । गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्ने र सोही भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बैठकको ठहर छ । गठबन्धनको निरन्तरताका लागि राष्ट्रपति पदको माग पनि गर्ने भएको छ । राष्ट्रपतिमा झलनाथ खनाललाई प्रस्ताव गर्ने सम्भावना देखिन्छ ।

सचिवालय बैठक सकेर बाहिरिँदै गर्दा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधबकुमार नेपालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने प्रतिक्रिया दिएका छन् । उनले भने– ‘वामगठबन्धन गरेर सरकार बन्ने सम्भावना म देख्दिनँ, अहिलेकै गठबन्धन दलहरूबीच सहकार्य गरी अघि बढ्ने हामीले ठानेका छौं ।’

उनले अब को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै गठबन्धनभित्र छलफल भइनसकेको उनले बताए । केही ठाउँमा पुनः मतदान र मतगणना नै बाँकी रहेकोले यसका लागि छलफल गर्ने समय रहेको उनको भनाइ थियो । बैठकमा चुनावी समीक्षा पनि भएको उनले बताए । विशेष गरी इलाम १ र उदयपुर २ बारे समीक्षा भएको उनको भनाइ थियो । इलामबाट झलनाथ खनाल र उदयपुरबाट जगन्नाथ खतिवडा पराजित भएका थिए ।

उनले राष्ट्रिय राजनीति कतै ‘दक्षिणपन्थी दिशातर्फ’ त जाँदै भन्ने बिषयमा पनि बैठकमा आफूहरुले गम्भीर चिन्तन गरेको बताए।