१२ बैशाख २०८१, बुधबार 1713948041
फिचर

अचारबाट आम्दानी गर्दै अधिकारी

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुकी सरस्वती लोहनी अधिकारी ।

आफ्नै घरमा अचार उत्पादन सुरु गर्नुभएकी अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा रु ५० लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुमा ‘माई पिकल हाउस’ सञ्चालन गर्दै आउनुभएकी अधिकारीले कोरोना महामारीको समयमा सुरु गर्नुभएको अचार उद्योगबाट पर्याप्त आम्दानी गर्नुभएको हो । तारकेश्वर उज्वल महिला समूहको सचिव भएको समयमा नगरपालिकाले दिएको अचार बनाउने तालिममा सहभागिता हुनुभएकी अधिकारीले नगरपालिकाकै कारण अचार बनाउन थाल्नुभएको हो । अधिकारी अहिले सो महिला समूहको सल्लाहकार हुनुहुन्छ । “नगरपालिकाले हामीलाई तालिम दिएसँगै अचार बनाउन अग्रसर ग¥यो, सुरुमा बाध्यताले मसहित पाँचजना मिलेर अचार उद्योग सञ्चालन ग¥यौँ, पछि उद्योगको भविष्य राम्रो देखेर एक्लैले उद्योग सञ्चालन गरेकी हुँ,” उहाँ भन्नुहुन्छ । तनहुँ घर र नुवाकोट माइती भएकी अधिकारी विगत २२ वर्षदेखि श्रीमान् राम अधिकारीले काठमाडौँको बागबजारमा सञ्चालन गरेको ‘बिआर प्रिन्टर प्रेस’को काम गर्दैआउनुभएको थियो । अचार बनाउने तालिम लिएसँगै छापाखानाको काम छाडेर हाल आफ्नै अचार उद्योगमा व्यस्त हुनुहुन्छ । उहाँले अचार उद्योग सञ्चालन गर्न परिवारको समेत राम्रो साथ र सहयोग पाउनुभएको छ । विसं २०७६ फागुनदेखि सञ्चालनमा आएको उक्त अचार उद्योगमा पछिल्लो समय छ जनाले रोजगार पाउनुभएको छ । नियमित रुपमा छ जनाले काम गर्दै आए पनि धेरै उत्पादन हुने समयमा कामदारको सङ्ख्या थपघट हुने गरेको उहाँको भनाइ छ ।

सुरुको समयमा रु ५० हजार लगानी गरेर मेसिन, भाँडाकुँडा, ढकतराजु र अचारलाई आवश्यक पर्ने सामाग्री खरिद गरेर एउटा कोठाबाट सञ्चालन गरिएको उक्त उद्योग हाल ६ कोठामा सञ्चालित छ । मिक्स अचार, टिमुरको छोप र मेथीको टुसाको अचारबाट सुरु भएको उक्त उद्योगमा हाल १५ किसिमका अचार उत्पादन हुँदै आएको अधिकारी बताउनुहुन्छ । हाल उक्त उद्योगमा मिक्स, टिमुर, मेथी, आँप, अकबरे, लप्सी, कागती, मुला, करेला, गुन्द्रूक, भट्टमास, सिद्रा, टिमुर मिक्स, सिद्रामाछा, काँक्रो र तामाका अचार उत्पादन हुन्छन् । माई पिकल हाउसमा उत्पादित अचार हाल काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन बिक्रिवितरण हुँदै आएको छ । नेपालबाहेक अष्ट्रेलियामा बढी अचार बिक्रि हुने गरेको छ । यस्तै, क्यानडा र अमेरिकामासमेत अचार निर्यात हुँदै आएको सञ्चालक अधिकारीले बताउनुभयो । वैदेशिक रोजगार र अन्य कामका लागि विदेश जाने नेपालीले उद्योगमै आएर अचार लैजाने गरेको उहाँ बताउनुहुन्छ । रासस