७ बैशाख २०८१, शुक्रबार 1713569417
Banner

०७९ को जनादेशले न सत्ता चलाउने शक्ति दियो न त प्रतिपक्षमा बस्ने नैतिक आधार

आए आँप गए झटारो प्रवृत्तिको राजनीति र अवसरवादी पात्रहरूलाई प्रयोग गरेर नेपालमा नियन्त्रित अस्थिरता कायम राख्न र बढाउन दक्षिण पश्चिम एक हदसम्म सफल भएको चुनाव परिणामले संकेत गरेको छ। नेपाली मतदातालाई भ्रमित बनाएर त्रिशंकु संसद बनाउने गरी मतदान गराउन र कुनै एउटा राजनीतिक शक्ति बलियो बनाउनबाट रोक्न र गठबन्धन बनाएर चुनावमा लडेका दलहरूलाई पनि बहुमत पुग्न नदिन अस्थिरतावादीहरू सफल देखिए। तर हामी भने यसलाई परिवर्तनको संकेत भनेर विश्लेषण र चर्चा गर्दैछौं, जबकी नकारात्मक सोच, भ्रम र प्रभावबाट आएको चुनावी परिणामले सकारात्मक परिवर्तनको आधार तयार गर्दैन भनेर हामीले अझै पनि बुझ्न सकिरहेका छैनौं।

आम निर्वाचनमा लोकतन्त्रलाई बलियो बनाउने क्रममा देखिएका व्यावधान र नकारात्मक सोच, भ्रम र प्रभावहरूबाट आएको चुनावी परिणामहरू अस्थायी हुन्। एक माघले जाडो जाँदैन् भनेझैं एउटा निर्वाचनको परिणामले मात्रै कुन राजनीतिक शक्ति बलियो वा कमजोर भन्न सकिंदैन्। त्यसैले जित्नेले बलियो र हार्नेले कमजोर ठान्नु पर्दैन् किनभने यो निर्वाचनमा राज्यको चौथो अंग सञ्चार माध्यमहरूले इमानदार र जिम्मेवार भएर स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह नै गरेनन् अन्यथा न यो खालको चुनावी परिणाम आउने थियो न त त्रिशंकु संसद नै बन्ने थियो। खासगरी उनीहरूले प्रोजेक्ट प्रश्न, समाचार, विश्लेषण र टिप्पणीहरूमार्फत नेकपा एमाले र यसको मुख्य नेतृत्वहरू हराउने अभियान नै चलाए। त्यतिमात्र कहाँ हो र, प्रोजेक्ट प्रधानमन्त्री अभियानलाई सघाउन ‘नो नट अगेन’ को नारा व्यापकमात्र बनाएनन्, बुढा र पुरानाहरू बेठीक अनि युवा र नयाँहरू ठीक भन्ने भाष्य बनाएर तिनका पृष्ठभूमिमा रहेका खराब पात्र र प्रवृत्तिहरूका बारेमा लेखेनन् र बोलेनन्।

राजनीतिमा दोहोरो मापदण्डले एकातिर विचार, योगदान र त्यागको कुरा गरेर राजनीतिक नेतृत्वमाथि अनुचित दबाव दिन खोजियो भने अर्कातिर नयाँ र युवा भनेर विचार, योगदान र त्यागलाई नजरअन्दाजमात्र गरिएन खराबलाई प्रोजेक्ट गरेर वामपन्थी राजनीतिलाई विभाजित र विवादित बनाउँदै नेपालमा नियन्त्रित अस्थिरता बढाउन त्रिशंकु संसद बनाउने आधार पनि बनाइयो। अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा फलाना फलाना नेताहरूले जिते र जित्दैछन् अनि हारे र हार्दैछन् भन्नुभन्दा यो जित र हारले नेपाललाई अब कस्तो बनाउँदैछ भनेर चिन्तन गर्नुपर्ने भएको छ। नेपालमा नियन्त्रित अस्थिरता बढाएर आफ्नो स्वार्थ पूरा गर्न चाहनेहरू सफल बन्दै गरेको तथ्यप्रति चिन्ता गर्नुपर्ने भएको छ। तर यो चेतना हामी नेपालीमा कहिले आउला ?

हामीले बुझ्नुपर्छ, खबरीलाल र खराब पात्रहरूको जितमा मख्ख पर्नुको कुनै अर्थ छैन् किनभने नेपालमा नियन्त्रित अस्थिरता कायम राख्न र बढाउन अनि बाह्य स्वार्थहरू पूरा गर्न यो जित र हारले मुख्य भूमिका खेल्नेछ। जबजब जनता भ्रममा पर्छन् तबतब देशमा अस्थिरता बढ्ने आधारहरू बनेको छन्। २०६४ मा त्यस्तै भएको थियो। अहिले त्यस्तै हुँदैछ। अबको पाँच वर्ष त्रिशंकु संसदलाई उपयोग गरेर २०५२(२०५५ मा झैं हाम्रो राष्ट्रिय स्वार्थ कमजोर बनाउने खेल हुनेछ। त्यही खेलका लागि प्रोजेक्ट प्रधानमन्त्रीको चर्चाले बजार पाएको छ। चुनावपछिको राजनीतिक गतिविधि जुन ढंगले अघि बढाउन खोजिदैछ र जस्ता पात्र र प्रवृत्तिहरूलाई प्रधानमन्त्रीको रूपमा चर्चा गराईंदैछ, यो देशका लागि शुभ संकेत होइन। दलाल पुजिंवादी तथा दक्षिणपन्थीहरूले वामपन्थी तथा देशभक्त राजनीतिलाई बदनाम गर्न र पछि पार्न जस्तो खालको रणनीति अपनाए, त्यसले आंशिक सफलता पाएपछि उनीहरू उत्साहित भएर बाह्य स्वार्थ बलियो बनाउने अर्को आधार तयार गर्न खोज्दैछन्।

यो निर्वाचनमा मतदाताले भ्रम र प्रभावमा परेर अनि सार पक्ष छोडेर रूप पक्षमात्र हेरेर जसरी मतदान गरे त्यसले जित्नै पर्ने पक्षलाई कमजोर बनाएको छभने हार्नुपर्ने पक्षहरू टुक्रा–टुक्रामा जिताएको छ। मतदाताहरू राजनीतिक रूपमा साक्षर नहुँदा र उनीहरूले बाह्य चलखेललाई ठीक ढंगले नबुझ्दा खराब पात्र र प्रवृत्तिहरू संसदमा निर्णायक बन्ने अवस्था बनेको छ। सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प अलपत्र पार्ने राजनीतिक अवस्था र संसदीय गणित तयार भएको छ। यसर्थ देशको पक्षमा राजनीतिक निर्णय लिने सवालमा हामी नेपालीहरू फेरि पनि पछि परेका छौं। जसले गर्दा अनपेक्षित रूपमा राष्ट्रिय स्वार्थ कमजोर बनाउन खोज्ने राजनीति र पात्रहरूले आफूलाई सफल ठान्दैछन् र त्यही रणनीतिअनुसार प्रस्तुत हुन खोजिरहेका छन्।

कुनै पनि एक राजनीतिक शक्तिलाई बलियो र नेतृत्वलाई स्थापित हुन नदिने २००७ देखिको बाह्य रणनीतिले अहिले पनि काम गरिरहेको परिणामहरूले देखाउँछ। बलियो राजनीतिक शक्ति र नेतृत्वलाई कमजोर बनाएर विस्थापित गर्न कमजोरहरूलाई एक ठाउँमा ल्याएर हस्तक्षेप गर्ने राजनीति भइरह्यो। २००७(२०१७, २०४५(२०४६ २०५१, २०५४, २०५८, २०६४ र २०७२(२०७७ देखि २०७९ मा भएका राजनीतिक गतिविधिहरूलाई ठीक विश्लेषण गर्ने होभने हामीले हाम्रा कमजोरी र गल्तिहरूलाई चिन्न र बाह्य चलखेल अनि हस्तक्षेपहरूलाई बुझ्न सक्छौं। निर्वाचनबाट त्रिशंकु संसद बन्ने पक्का भएपछि दलाल पूजिंवाद र बुर्जुवा धारका विश्लेषक तथा सञ्चार माध्यमहरू उत्साहित भएर एकाएक सक्रिय भएका छन्। यो निर्वाचनलाई ‘मध्यम वर्गको विद्रोह’ को रूपमा व्याख्या गर्न खोज्दैछन्। नेकपा एमालेलाई ठूलो र पहिलो दल बन्नबाट रोक्न सकेकोमा हर्षित भएर टिप्पणीहरू गर्दैछन्। उनीहरूको यो हर्षमा भीमबहादुर रावलहरू पनि मिसिएका छन्। जबकी यो निर्वाचनको परिणामले राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गरेर नियन्त्रित अस्थिरता बढाउने आधार तयार गर्दैछ। राजनीतिमा खराब पात्र र प्रवृत्ति अनि दातामुखी दल र नेतृत्वको प्रभाव बढ्नु भनेको राष्ट्रिय स्वार्थ कमजोर हुनु हो भनेर हामी बुझ्न र बुझाउन सकेनौं

सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूमा चुनाव परिणामलाई लिएर जसरी खुसी व्यक्त भइरहेका छन्, त्यो खुसीले देश सम्वृद्ध बनाउने आधार खोजेको र देखेको छैन्। उनीहरूले नयाँ दल र पात्रहरूको जीतका पछाडिका लक्ष्य र उद्देश्यहरू बुझेका छैनन्। उनीहरू देशले भोलि व्यहोर्न सक्ने संकटलाई आफ्नो राजनीतिक भविष्य राम्रो हुने देखेर रमाईरहेका छन्। यो खालको चिन्तन र परिकल्पनाले लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाएर सामजिक आर्थिक रूपान्तरण गर्ने राष्ट्रिय राजनीतिलाई कमजोर बनाउन खोजेको छ। अहिले त्यही चिन्तन र परिकल्पनामा रमाउने पक्षहरूलाई आदर्श ठानेर समाचार बनाईंदैछ र विश्लेषण गरिदैछ। यसले आम नागरिकलाई अझ भ्रमित गरेर परिस्थितिलाई जटिल बनाउने छ भनेर हामीले बुझ्नुपर्छ। त्यसैले यो चुनावी परिणामलाई लिएर मख्ख हुने र कसैलाई खुच्चिङ भन्ने र गर्ने बेला होइन भनेर हामीमा चेतना आउनु पर्छ।

दक्षिण पश्चिम त्रिंशकु संसद बनाएर नेपालमा नियन्त्रित अस्थिरता बढाउन चाहन्थ्यो। यो निर्वाचन परिणामले उनीहरूको त्यो चाहाना पूरा गर्ने आधार तयार गरिदिएको छ। नेकपा एमालेलाई बलियो बन्न नदिने रणनीतिबमजिम नेपाली कांग्रेसको नेतृत्वमा औपचारिक रूपमै चुनावी गठबन्धनमात्र बनेको थिएन, नयाँ पार्टी र स्वतन्त्रहरूबीच पनि निश्चित ठाउँमा एमालेका निश्चित उम्मेदवारहरू हराउन अनौपचारिक गठबन्धन नै बनेको थियो। जसको भेउ समय मै एमाले नेतृत्वले मात्र होइन एमालेका बौद्धिक कार्यकर्ता तथा शुभचिन्तकहरूकले पनि भेउ पाएनन्। जसका कारणले अनपेक्षित रूपमा राम्रो संगठन र जनाधार हुँदाहुँदै पनि एमाले चुनावी अंक गणितमा कमजोर बन्न पुग्यो।

मतदाताहरूले परिवर्तन र नयाँका नाममा चलाइएको भ्रमपूर्ण हल्लामा परेर मतदान गर्दा बाह्य रणनीतिबमोजिम अब संसद त्रिशंकु बन्ने नै भयो। यो नियन्त्रित अस्थिरता बढाउने आधार बन्दैछ। नेकपा हुँदै नेकपा एमालेमा विभाजन गर्दै परमादेशबाट कम्फर्टेबल सत्ता गठबन्धन बन्नु र नयाँ अनि परिवर्तनको नाममा रबी लामिछानेको नेतृत्वमा नयाँ दल बनाएर गगन थापाहरूसँग अघोषित गठबन्धन बनाउनुका पछाडि नेकपा एमालेलाई हराउनु मात्र थिएन भन्ने कुरा निकट भविष्यमा प्रमाणित हुने नै छ। भारतमा सिक्किमको विलय लोकतन्त्र, परिवर्तन र नयाँको नाममा जनमत दुरूपयोग गरेर भएको थियो। त्यतिखेर सिक्किमका जनताले हामी भारतीय हुन्छौं भनेर मतदान गरेका थिएनन्। तर त्यो जनादेश सिक्किमलाई भारतमा गाभ्न प्रयोग गरियो। अहिले नेपालमा लगभग त्यस्तै हुँदैछ, भोलि तत्काल नेपाललाई भारतमा गाभ्ने काम नहुने भएतापनि त्यसका लागि वातावरण बनाउने काम भने हुनेछ। नागरिकताको विषयमा विवादित वा अनागरिक पात्रलाई सांसद बन्ने बाटो खुलाइने छ। खुकुलो नागरिकता विधेयक फेरि ल्याउने वातावरण पनि बनाइने छ। 

खराब पात्र र प्रवृत्तिलाई मुख्य नेता बनाएर अनि नेता मानेर, गलत दर्शनलाई आदर्श ठानेर अनि भ्रम र नकारात्मक सोचलाई विद्रोह र प्रगतिको आधार बनाएर त्यसको पछि लाग्नु भनेको आफ्नो र देशको भविष्य अनिश्चित बनाउनु हो। सामाजिक सञ्जालमा एकथरी मान्छेहरू फलानो फलानो नेता हार्यो भनेर खुसी व्यक्त गर्दैछन्। त्यो खुसीमा गन्तव्य भेटिदैन्। परिवर्तनका नाममा नकारात्मक पक्षलाई मतदान गरेर आज खुसी भएकाहरू भोलि निकट भविष्यमै पछुताउने र आफैं पीडित भएको महसुस गर्नेछन्। २०७९ को चुनावी नतिजाले तत्काल कतिलाई खुसी बनाएको पनि होला। चुनाव जिताइयो भन्ने पनि लागेको होला, तर गन्त्व्य कता कुनै पत्तो छैन्। किनभने अहिलेको जनादेशले न पुरानोलाई सत्ता चलाउने शक्ति दियो न त नयाँ दललाई प्रतिपक्षमा बस्ने नैतिक आधार नै बनाइ दियो। स्पष्ट भाषामा भन्दा यो अपरिपक्व जानदेश भयो। अहिले राजनीतिक दलका नेताहरूले आफूले आफैलाई सोध्दै होलान, घोषित अघोषित गठबन्धन नबनाएर पार्टीहरूले एक्ला एक्लै चुनाव लडेको भए कस्तो नातिजा आउँथ्यो र हामी कुन भूमिकामा हुन्थ्यौं होला।