४ बैशाख २०८१, मंगलवार 1713326419
अर्थ

गुड्न उपयुक्त नभएका सवारीसाधन नियन्त्रणमा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा आवश्यक कागजात नभएका तथा सडकमा गुडाउनका लागि उपयुक्त नभएका सवारीसाधनलाई धमाधम नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका विभिन्न स्थानबाट सञ्चालनका लागि राम्रो अवस्था नभएका सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि यातायात कार्यालयलाई पठाएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार हालसम्म तीन सय ५२ सवारीसाधन नियन्त्रणमा लिई कारबाहीका लागि विभागअन्तर्गत कार्यालयमा पठाइएको छ । सडकमा सञ्चालनका लागि उपयुक्त नभएका सबै प्रकारका सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि पठाउने गरिएको छ । “आवश्यक कागजपत्र नभएका र ‘कन्डिसन’ ठीक नभएका सवारीसाधन नियन्त्रणमा लिएर यातायात कार्यालयलाई कारबाहीका लागि पठाउने गरेका छौँ, दसैँअघि देखिने यो कार्य भइरहेको छ”, प्रवक्ता भट्टले भन्नुभयो । ट्राफिक प्रहरी कार्यालयले आज मात्रै १८ सवारीसाधन नियन्त्रणमा लिएको छ । ट्राफिकले आज बिहान केही सङ्ख्यामा ग्यासबाट चल्ने निलो माइक्रो नियन्त्रणमा लिएको थियो । आवश्यक कागजपत्र नभएका र कन्डिसन ठीक नभएका माइक्रो नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी माइक्रो नियन्त्रणमा लिएको विरोधमा चालकहरूले सिंहदरबारको मुख्य प्रवेशद्वार अघिल्तिरको सडकपेटीमा माइक्रो राखेर विरोध गरेका छन् ।

निलो रङ्गका दर्जन बढी सवारीसाधन सांकेतिक विरोधस्वरुप सडकपेटीमा प्रदर्शन गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सवारीसाधन नियन्त्रण लिने मात्रै नभई व्यावसायिक लगानीको पनि जोखिम नहुने गरी सरकारले सरोकारवालासँग छलफल गरेर दीर्घकालीन नीतिगत रुपमा व्यवस्था गर्नसके यस्तो किसिमको समस्या नआउने बताउनुभयो । उहाँले प्राविधिक रुपमले सडकमा सञ्चालनयोग्य सवारीसाधन सञ्चालनका लागि सरकारले सहजीकरण गरिदिएको खण्डमा व्यवसायी पनि जिम्मेवार बन्ने उल्लेख गर्नुभयो । उपाध्यक्ष सिटौलाले भन्नुभयो, “पुराना गाडी चलाउनै पर्छ भन्ने हाम्रो कुरा होइन, दीर्घकालीन रुपमा प्रभावपर्ने नीतिगत सहजीकरण सरकारले गरिदिनुपर्छ ।” “बिहान तीन/चार वटा ‘कालोप्लेट’ माइक्रोको कागजात जाँच गरिएको थियो । गुडाउन उपयुक्त नभएका ती माइक्रो नियन्त्रणमा लिइएको थियो । त्यसैको विरोधमा उनीहरूले विरोध जनाएका हुन्”, ट्राफिक कार्यालयले भन्यो । पछिल्लो समय ट्राफिक प्रहरीले सवारीसाधनको जाँचलाई कडाइ गरेको छ ।

कागजात नभएका र सञ्चालनका लागि उपयुक्त नरहेका सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात कार्यालयलाई पठाउने गरेको छ ।