१२ चैत्र २०७९, आईतवार 1679861810
Banner

युक्रेन रूसबीचको विवाद र युद्धले दिएको सन्देश

पुष्कर कडेल, चितवन

युक्रेनमाथि रूसको सैनिक आक्रमण निन्दनीय छ। यसले युक्रेनियनहरूको स्वतन्त्रतापूर्ण बाँच्न पाउने अधिकार कुण्ठित भएको छ। यो रूपमा देखिएको परिणाम हो। तर सारमा यो युद्ध र विनासको स्थिति सिर्जना हुनुमा रूसलाई मात्र जिम्मेवार बनाउनु वा देखाउनु ठीक होइन किनभने अमेरिकाको नेतृत्वमा रहेको नाटोले युक्रेनलाई अनावश्यक रूपमा रूसका विरूद्ध गतिविधिहरू गर्न उक्सायो। जब रूससँग आमनेसामने हुने स्थिति बन्यो तब उनीहरूले युक्रेनलाई एक्लै छोडिदिए। आज त्यसको परिणाम युक्रेनी जनताले भोग्न बाध्य भएका छन्।

यदि युक्रेनले आफ्नो आवश्यकता, क्षमता र बाध्यताबीचको सन्तुलन मिलाएर नाटो राष्ट्रहरूको प्रस्ताव स्विकार गर्ने र रूससँगको सम्बन्धमा दरार आउन नदिएको भए आजको संकट व्यहोर्नु पर्ने थिएन। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो राजनीति जोगाउन र सामरिक रूपमा युक्रेनलाई बलियो बनाउने लोभमा परेर नाटोसँग सहकार्य गर्दा त्यसले पार्ने सकारात्मक र नकारात्मक दबाव र प्रभावको आँकलन गर्ने र अमेरिकाको नेतृत्वमा रहेका नाटो राष्ट्रहरूको नियत पनि बुझ्न सकेनन्। जसले गर्दा जेलेन्स्की रूसका नजरमा शत्रु बन्न पुगे। त्यसमाथि नाटो देशहरूले युक्रेनलाई युद्धमा धकलेर आफूहरू पछाडि हट्दा यसको फाईदा प्रत्यक्ष रूपमा रूसलाई भयो।

विश्व राजनीतिमा शक्ति राष्ट्रहरूसँगको मित्रता होस् कि दुश्मनी त्यसले दुवै अवस्थामा साना राष्ट्रहरूलाई लाभ होइन हानी नै गर्ने गरेको छ। आज युक्रेन र युक्रेनियन जनतालाई परेको पिंडाले त्यसको पूष्टि गरेको छ। रक्षा विशेषज्ञहरू भन्छन्, अमेरिकासँगको मित्रतामा होस् कि दुश्मनीमा कुनैपनि देशले लाभ प्राप्त गरेको छैन्। त्यसको प्रत्यक्ष उदाहरण खाडीका मुलुकहरूले भोगिरहेको द्वन्द्व अनि तीन दिनदेखि युक्रेनले भोगिरहेको युद्धलाई लिन सकिन्छ। अगानिस्तानबाट एकाएक भागेको अमेरिका युक्रेनको पक्षमा रूसका विरूद्ध लड्न आउँछ भनेर युक्रेनी राष्ट्रपतिले आसा गर्नु नै मूर्खता थियो। किनभने भर्खरै तालिवानसँग युद्धमा पराजित भएर फर्केको अमेरिका रूससँग लड्ने नैतिक सामर्थ्य राख्दैनथ्यो।

युक्रेनमाथि थोपरिएको युद्धलाई हेरेर हामी नेपालीहरूले नेपालको आवश्यकता, क्षमता र बाध्यताहरूको बीच सन्तुलन मिलाएर अन्तराष्ट्रिय सम्बन्धहरू कायम राख्नुपर्छ। युक्रेन सामरिक रूपमा अमेरिकासँग नजिक हुन खोज्दा रूससँगको युद्धमा फस्यो। यो यथार्थलाई बुझेर हामीले एमसीसीमार्फत अमेरिकाले दिन खोजेको आर्थिक अनुदानलाई सदुपयोग गर्नुपर्छ। शक्ति राष्ट्रहरूको रणनीति र चलखेलमा फस्नु हुँदैन्। एमसीसीमार्फत प्राप्त हुने आर्थिक अनुदानलाई विशुद्ध रूपमा विकास सहायताका रूपमा व्याख्या गरेर बुझ्नु पर्ने भएको छ। हामी हाम्रो भुराजनीति र अन्तराष्ट्रिय सम्बन्धहरूमा समस्या नआओस् भनेर हरबखत सचेत हुनु परेको छ।

आज युक्रेनका राष्ट्रपति जेलेन्स्की राजधानी किभ जोगाउन पुलहरू आफैले भत्काउँदैछन्। सैनिक पोसाकमा देखिएर आफू युद्ध मैदानमा होमिएको देखाउँदैछन्। तर यी प्रयासहरूले न जेलेन्स्कीको सत्ता जोगिनेवाला छ न त युक्रिनियन जनता पीडित हुनबाट रोकिनु पर्नेछ। नेपालका राजनीतिक नेताहरूले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरेका गल्तिहरूबाट पाठ सिकेर जमिनका छिमेकी मुलुकहरू र आकासका छिमेकीहरूसँगको सम्बन्ध सन्तुलित र व्यवस्थित बनाउन सक्नुपर्छ। दबाव र प्रभावमा परेर भन्दा नेपालको आवश्यकता, क्षमता र बाध्यताहरू बुझेर अन्तराष्ट्रिय सम्बन्धहरूलाई अघि बढाउनु पर्छ।

यता हामी भावनात्मक रूपमा ग्रेटर नेपाल बनाउने परिकल्पनामा छौं, यो परिकल्पनालाई भारतले सहज रूपमा लिएको छैन्। बरू उसले बेला बेलामा सिमा अतिक्रमण गरेर हामीलाई त्यो परिकल्पना छोड्न दबाव दिइरहेको छ। त्यस्तै उता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन १९९१ मा टुक्रिएको सभियत संघलाई सके एकीकृत गर्ने नसके कम्तिमा ति देशहरूमा अमेरिकी प्रभाव नपरोस् भन्ने चाहन्छन्। पुटिनको त्यो भावनालाई जेलेन्स्कीले बुझेनन् र अमेरिकासँग मिलेर रूससँग तनाव बढाउँदा आज संकटमा परेका छन्। त्यसैले जेलेन्स्कीका कारणले युक्रेनियन जनताले जस्तो नियति भोलिका दिनमा नेपाली जनताले भोग्न नपरोस् भनेर हाम्रा नेताहरू विवेक पुर्याउनु पर्छ।