१३ बैशाख २०८१, बिहीबार 1714110043
खेलकुद

टी–२० विश्वकप छनोटमा नेपाल तेस्रो

आईसीसी टी–२० ग्लोबल छनोट खेलमा नेपाल तेस्रो भएको छ । छनोट खेलमा समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएपछि विश्वकप छनोटबाट बाहिरिएको थियो । ओमानस्थित अल अमरेत क्रिकेट मैदानमा बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई नौ विकेटले हरायो ।

ओमानले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा एक विकेटको क्षतिमा ९० रन जोड्दै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अविजित सर्वाधिक ५५ रन बनाउनुभयो । उहाँले ५३ बलमा तीन चौका दुई छक्का हान्नुभएको थियो । आरिफ शेखले अविजित २१ र ओपनर आशिफ शेखले १३ रन बनाउनुभयो । बलिङमा ओमानका कप्तान जिसान मकसुदले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । ओमानका लागि कप्तान जिसान मकसुदले सर्वाधिक २१ रनब नाउनुभयो । आयन खानले १६, नसिम खुसी १५ र कलिमुल्लाहले १४ रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । ओमानलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिनुभयो । सन्दीपले चार ओभरमा १३ रन खर्चिनुभएको थियो । कमलसिंह ऐरी, अभिनाश बोहरा, आरिफ शेख र सागर ढकालले एक एक विकेट लिनुभयो । उपाधिका लागि बिहीबारनै यूएई र आयरल्यान्डबीच प्रतिस्पर्धा भएको छ ।