१३ बैशाख २०८१, बिहीबार 1714082361
खेलकुद

भलिबल संघद्धारा दुई सिजनको वार्षिक कार्यक्रम एकसाथ सार्वजनिक, यस्ता छन् प्रतियोगिताहरु

काठमाडौं । नेपाल भलिबल संघले दुई सिजनको वार्षिक कार्यक्रम एकसाथ सार्वजनिक गरेको छ । संघले २०७९ र ८० गरी दुई सिजनको एकमुष्ट वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । संघले बुधबार एक विज्ञप्ति निकाल्दै संघले आयोजना गर्ने प्रतियोगिता र राष्ट्रिय टोलीले सहभागिता जनाउने प्रतियोगिता समेटेर कार्यक्रम सावर्जनिक गरेको हो ।

नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी फागुनमा सन्चालन हुने भलिबल संघको वार्षिक कार्यक्रममा उल्लेख छ । यो प्रतियोगिता गत वर्ष नै सम्झौता भएर पनि आयोजना हुन सकेको थिएन ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टसँग संघले गत वर्ष फ्रेन्चाइज भलिबल लिगका लागि सम्झौता गरेको थियो । यही कम्पनीले फुटबलतर्फ नेपाल सुपर लिगको पहिलो संस्करण आयोजना गरेको थियो ।

केहि नयाँ कार्यक्रम पनि समावेश गरिएका छन् । नेपालले अर्को महिना उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट सहभागिता जनाउँदैछ । डिसेम्बर तेस्रो साता बंगलादेशमा हुने यू–२३ एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपालमा खेलाडी छनोट भइरहेको छ ।

संघले यही वर्ष पहिलोपल्ट उमेर समूहको प्रतियोगिता आयोजना गर्ने भएको छ । यू–१५ पुरुष तथा महिला राष्ट्रिय प्रतियोगिता गर्ने भनिए पनि मिति भने निर्धारण गरिएको छैन ।

२०८० सालमा महिला र पुरुषको एक–एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना गर्ने क्यालेण्डरमै उल्लेख गरिएको छ । सोही वर्ष राष्ट्रिय रेफ्री कोर्ष सन्चालन हुनेछ ।

नयाँ कार्यसमिति आएपछि संघले पहिलो पटक वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । गत भदौ २३ गते भएको चुनावी साधारण सभाबाट जितेन्द्र बहादुर चन्दको अध्यक्षतामा संघको नयाँ कार्यसमिति आएको थियो ।