१४ बैशाख २०८१, शुक्रबार 1714115722
प्रदेश

प्रदेश नं. १ का वनमन्त्री एवम् मोरङ ३ (१) का उम्मेदवार थापाको निधन, कांग्रेसले अर्को उम्मेदवार उठाउन पाउने

मोरङ । प्रदेश नं. १ का वनमन्त्री एवम् मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।

निमोनियाबाट पीडित थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । निर्वाचन आयोगका अनुसार कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ । त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने परिवर्तन हुँदैन ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

थापा गत असोज २४ गतेयता अस्पतालमै थिए । गत असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेका थापा २४ गते नै गम्भीर बिरामी परेका हुन् । त्यसअघि भने उनी औषधि खाएर चुनावी अभियानमा थिए ।

असोज २४ गते स्वास्थ्य जटिल भएपछि उनलाई विराटनगरकै नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । गम्भीर प्रकारको निमोनिया देखिएपछि उनलाई थप उपचारका लागि असोज २७ गते हेलिकप्टरमा काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो ।

२५ दिन काठमाडौंको ह्याम्स अस्पतालमा राखेर उपचार गर्दा उनको निमोनिया ठीक भएको भनिएको थियो । निको भयो भनेर उनलाई आफन्तले काठमाडौंबाट विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । स्वास्थ्यमा सुधार भएपनि अत्याधिक कमजोरी भएका कारण निरन्तर अक्सिजन सहयोगमा राखिएको थियो । तर उनको निधन भयो ।