८ बैशाख २०८१, शनिबार 1713606960
Banner

वरिष्ठ क्याप्टेन विजय लामाको गम्भीर लापरबाही, कारबाहीका लागि अनुसन्धान सुरु

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा छानविनमा तानिएका छन् । आकाशमै ककपिटमा चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति दिँदै भिडियो अन्तर्वार्ता दिएपछि उनलाई विमान उडानमा रोक लगाएर छानबिन सुरु गरिएको हो । क्याप्टेन लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणले उक्त घटनाबारे अध्ययन सुरु गरेको हो । अध्ययनको प्रतिवेदन नआउँदासम्म लामालाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र के कारणले फोटो वा भिडिओ लिन लागिएको कारण स्पष्ट पारेर मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् । तर एभिएसन भ्लगर साम चुईले दुबई÷काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएपछि लामा अनुसन्धानमा तानिएका हुन् ।

चिनिया भ्लगर साम चुईले गत ५ नोभेम्बरमा आफ्नो भ्लग युट्युबमा प्रकाशन गरेपछि यात्रुलाई ककपिटमा प्रवेश दिएको र उडान कर्मचारीसँग भिडियो वार्ता गरेको जानकारी आएको थियो । तर त्यसका लागि अनुमति नै नलिइएको पाइएपछि यसले गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै लामालाई तत्कालका लागि उडानमा प्रतिबन्ध लगाएर स्पष्टीकरण माग गरिएको हो ।