१३ बैशाख २०८१, बिहीबार 1714039984
फिचर

घरका छतभरि राताम्य खुर्सानी

त्रिपुुरासुन्दरी नगरपालिका–४ रङ्ग डोल्पाकी रमिता कुलालको घरको छत राताम्य भएको छ । माटो र ढुङ्गाको मिश्रणबाट निर्माण गरिएको घरको छानामा सुकाइएको स्थानीय जातको खुर्सानीले रङ्ग गाउँका छाना राताम्य देखिएको हो । कुलालका अनुसार १८ क्विन्टल खुर्सानी बारीमा उत्पादन भएको छ ।

कुलालले भन्नुभयो, “हाम्रो यहाँको खुर्सानी रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्लाभरिलाई पुग्छ । भोटाने खुर्सानी ९मच्य० भनेर चिनिने हामीले उत्पादन गरेको यो खुर्सानी धेरै बिक्री हुँने गर्दछ ।” कुलाल जस्तै सरस्वती बुढाको घरमा यसबर्ष १२ क्विन्टल खुर्सानी उत्पादन भएको छ । अहिले उत्पादिन खुर्सानी सुकाउने र भण्डारण गर्ने काम चलिरहेको छ । वैशाखमा लगाएको खुर्सानी असोज, कात्तिक महिनामा टिपेर सुकाउने काम चलिरहेको बुढाले बताउनुभयो । अग्लो डाडामा रहेको रङ्ग गाउँ सडक सञ्जालसँग जोडिएको छ । अधिकांश माटो प्रयोग गरेर निर्माण गरिएका यहाँका घरका छत खुर्सानी सुकाउनका लागि उपयुक्त हुने गरेको बुढाले जानकारी दिनुभयो । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने रङ्ग गाउँ खुर्सानीको रातो रङ्गले हिउँदयामको कात्तिक र मङ्सिर महिनाभरि छत राता हुने गर्दछन् । आधुनिक प्राविधिकभन्दा पनि स्थानीय जातकै खुर्सानी सबैले मन पराउने र माग बढी हुने भएपछि आफूहरु ले त्यहीअनुसार खुर्सानी खेतीतर्फ लागेको स्थानीय कालीबहादुर बुढाले बताउनुभयो ।

यहाँ दुई सय १४ घरधुरी रहेका छन् । तत्कालीन सुँ गाविसको वडा नं ७, ८ र ९ लाई समेटेर त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ४ बनेको छ । पूर्ववडा सदस्य हरिवान बुढाका अनुसार वडाभरि खुर्सानी राम्रो उत्पादन हुने गर्दछ । सानो रबरको एक जग खुर्सानी बिक्री गर्दा रु ७० पर्ने गर्दछ । एक क्विन्टल बिक्री गर्दा रु सात हजार दुई सय पर्ने गरेको बुढाले बताउनुभयो । खुर्सानी बिक्री बाट स्थानीयले झण्डै रु दुई लाखजति आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । गाउँमा बाट ढुवानीका साधनबाट त्रिपुराकोटस्थित बगरमा रहेका बजारमा बिक्री गर्ने गरिएको छ । सिँचाइ सुविधा सबै ठाउँमा नपुगेका कारण सोचेजति खुर्सानी उत्पादन गर्न मुस्किल हुँदै आएको स्थानीयवासी बताउँछन् । नगरपालिका र अन्य निकायले व्यावसायिकरुपमा खेती गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था, सिँचाइको व्यवस्था गरिदिए सहयोग पुग्ने स्थानीय भावना बुढाले बताउनुभयो । रङ्ग गाउँ खुर्सानी मात्र होइन, स्याउको पनि स्थापित मानिन्छ । मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी स्याउ, ओखर र खुर्सानीका लागि चर्चित हुँदै आएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाबाट खुर्सानी खेतीका लागि कुनै कार्यक्रम नभएको कृषि शाखाका जगतबहादुर रोकायले बताउनुभयो । स्याउ र ओखरका लागि मात्र बजेट विनियोजन गरी काम भएको उहाँले बताउनुभयो ।