७ बैशाख २०८१, शुक्रबार 1713566560
Banner

ओलीले गृहमन्त्री खाँणलाई भने– एमसीसीका विषयमा हामी स्पष्ट छौं, पहिला एमालेलाई न्याय दिनोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिनुभएको छ ।

एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार विहान बालकोट पुग्नुभएका खाँणलाई ओलीले सो सन्देश दिनुभएको हो ।
‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भेटवार्ताबारे भन्नुभयो,‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ ।

सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताउनुभयो ।
एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाउनुभएको थियो । मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।

‘संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ । कानून सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं,’ एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भन्नुभयो ।