८ बैशाख २०८१, शनिबार 1713642892
फिचर

धान दिएर तरकारी साटने एउटा गाउँको कथा

विशाल बस्नेत/ बर्दिबास-३ रजावासका मानबहादुर भट्टराई अहिले निकै खुसी छन् ।

भट्टराई केही वर्ष पहिलामात्र तरकारीको लागि धान साटने गर्थे । महँगोमा धान साटनु पर्दा तरकारीभन्दा पनि धान कसरी उत्पादन हुन्छ भन्नेमा नै किसानहरूलाई चिन्ता हुने गर्थ्यो । दाल, साग तथा कुनै पनि तरकारी खानका लागि रजावासमा निकै समस्या बन्ने गरेको भट्टराईसँग सम्झना छ ।

‘एक किलो तरकारी लिँदा तीन किलो धान दिनुपर्ने बाध्यताले किसानहरू तरकारी खानकै लागि धानको जोहो गर्नुपर्ने हुन्थ्यो,’ उनी भन्छन ।

सिँचाइको अभाव र खेती गर्ने तरिकाहरूको विषयमा खासै जानकार नहुँदा रजावास क्षेत्रमा बसोबास गर्ने प्राय जसो किसानहरूको  तरकारी लिने र धान दिने प्रक्रिया कयौँ वर्षसम्म चलिरह्यो । भट्टराईको पनि झण्डै एक पुस्ताले तरकारी खानका लागि धान उत्पादन गरे र जीविकोपार्जनको लागि यही प्रक्रियालाई अवलम्बन गरे ।

तर, भट्टराईका आजकाल दु: खका दिनहरू फेरिएका छन् । घर वरपर हरियाली छ । सुख्खा र पानीको अभावमा डढेलो जस्तो देखिने गाउँका वस्ती अहिले हरियाली बनेका छन् । करेसाबारीमा लहलह तरकारी उत्पादन भइरहेको छ, जसले धान साटनबाट भट्टराईलाई मुक्ति दिलाएको छ ।

भट्टराई जस्तै हरिमायाका दिनहरू पनि रंगिन बनेका छन् । आकाशे पानीबाट धान उत्पादन हुने र त्यो पनि अपेक्षाकृत उत्पादन हुन नसक्दा हरिमायाले पनि कयौं वर्षसम्म उस्तै समस्या भोगिन् । तरकारीको चरम अभाव  र धान दिनुपर्ने महंगो दबाबले जीवनयापनमा नै निकै समस्या बनेको भट्टराईकै जस्तो हरिमायासँग पनि नमिठो सम्झना छ ।

हरिमाया आजकाल आफ्नो करेसाबारीमा लगाएको हरियो तरकारी देखेर निकैबेर बगैंचामा नै हराउँछिन् । हरियो तरकारीको बोटमा लटरम्म फलेका सिमी, बोडी, साग, काउली देखेपछि कहिलेकाहीँ भावुक पनि हुन्छिन् ।

‘आफ्नो जीवनकालमा यस्तो होला भन्ने मैले सोचेको पनि थिइँन, सधैँभरि कसले तरकारी ल्याउला र धान साटौला भन्दैमा बुढी भएँ । के गर्ने,’ उनले भनिन् । तरकारी खोज्न चहार्दै हिँड्ने यस गाउँका किसानहरूले अहिले आफैँले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउँछन् ।

गाउँको दुस्ख देखेपछि सुविधा खोज्न गाउँबाट धेरै जना बसाइसराइ गरेको भट्टराई र हरिमायाले देखेका छन् । ‘अहिलेको अवस्था भएको भए कोही पनि बसाइ सर्नुपर्ने अवस्था आउँदैन्थ्यो होला,’ हरिमायाले भनिन् ।

करिब दुई सय घर बसोबास गर्ने यस गाउँमा अहिले सिँचाइको पर्याप्त सुविधा छ । विगत पाँच वर्षदेखि यहाँका हरेक किसानले न तरकारी खान धान साट्नुपरेको छ, न त धान उत्पादनको लागि चिन्ता नै लिनुपरेको छ ।  पर्याप्त सिँचाइको कारणले तरकारीमात्र लहलह हैन गाउँको रुप नै फेरिएको छ ।

स्थानीय सरकार निर्वाचित भएपछि पनि यहाँको मुहार फेर्न निक्कै कसरत गरेको वडा अध्यक्ष राजन ढुंगाना बताउँछन । ‘यहाँको समुदायको समस्यालाई ध्यानमा राखेर हामीले सिँचाइमा ठूलो बजेट विनियोजित गर्‍यौँ,’ उनले भने ।

रजावासमा मात्र नगरपालिका, प्रदेश तथा संघीय बजेटबाट करिब तीना करोडको काम भएको छ । खानेपानीको समेत चरम अभाव रहेको यस ठाउँमा अहिले एक घर एक धाराको अवधारणा लागु भएको छ ।