६ जेष्ठ २०८१, आईतवार 1716142522
Banner

खण्डग्रास सूर्य ग्रहण मंगलबार ३३ मिनेट रहने, कुन स्थानमा कति अवधि ?

काठमाडौं । यही कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्दै छ । त्यस दिन नेपालबाट करिब ३३ मिनेटसम्म सूर्यग्रहण देखिनेछ ।

उक्त दिन सूर्यग्रहण अपराह्न ४ बजेर ५२ मिनेटदेखि सूर्यास्तसम्म देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

“४ बजेर ५२ मिनेटदेखि सूर्यास्तसम्म देखिन्छ । लगभग–लगभग ३३ मिनेट । ५ः२५ मा सूर्यास्त छ, त्यो दिन,” उनले बाह्रखरीसित भने, “४ः४२ मा सूर्यग्रहणको पहिलो पार्ट देख्छौँ । ३३ मिनेटजति देखिन्छ ।”

सूर्यग्रहणलाई हेर्न सकिने तर नांगो आँखाले हेर्न नहुने उनले बताए । “हेर्न सकिन्छ । तर, नांगो आँखाले हेर्नु हुँदैन । सूर्यग्रहण चन्द्रग्रहणजस्तो हेर्नलाई सुरक्षित होइन । डेन्जर हुन्छ,” उनले भने ।

नांगो आँखाले सूर्य ग्रहण हेर्दा आँखा ‘ड्यामेज’ हुन सक्ने उनले बताए । उनका अनुसार सूर्यग्रहण हेर्नका लागि विशेष किसिमको चस्मा बनाइएको हुन्छ । त्यो महँगो पर्छ ।

काठमाडौंसहित पहाडी भेगका अग्ला स्थानबाट सूर्यग्रहण देखिने उनको भनाइ छ । “सनसेटको टाइममा हुने हुनाले अलिकति अग्ला स्थानहरूमा गयो भने देखिएला । घरमै बसेर सामान्य तरिकाले नदेखिन पनि सक्छ । सूर्यास्त हुने समयमा हुने भएकाले अग्लो स्थानबाट मात्र देखिन्छ,” उनले भने, “तराईतिर सामान्य स्थानबाटै देखिन्छ । पहाडतिरचाहिँ अलिकति अग्लो ठाउँमा गएर हेर्‍यो भने देखिन्छ ।”

उनले थपे, “सबैभन्दा सजिलो उपाय भनेको पिन होल्ड क्यामेरा मेथड छ, छाया पारेर हेर्ने, त्योचाहिँ बेस्ट हो । सिधा हेर्नु भएन ।”

सूर्यग्रहण कोही व्यक्तिविशेषले हेर्न हुने/नहुने भन्ने कुनै वैज्ञानिक आधार नभएको उनले बताए । “कुनै राशिले हेर्न हुने/नहुने भन्ने वैज्ञानिक आधार छैन । तर, चन्द्रग्रहण नांगो आँखाले मजाले जो कोहीले हेरे पनि हुन्छ भने सूर्यग्रहण त्यसरी हेर्नु भएन ।”

खण्डग्रास सूर्यग्रहण लामो र खग्रास सूर्यग्रहण छोटो अवधिको हुने उनले जानकारी दिए । “खण्डग्रास सूर्यग्रहण लामो हुन्छ । खग्रास सूर्यग्रहण छोटो हुन्छ, बढीमा साढे सात मिनेट,” उनले भने ।

एस्ट्रोनोमिकल सोसाइटीले सातै प्रदेशमा स्थानीयलाई सूर्यग्रहण हेर्नका लागि विशेष व्यवस्था गर्न लागेको उनले बताए ।

शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको जनाएको छ ।