२० बैशाख २०८१, बिहीबार 1714645087
Banner

निर्वाचन आयोगले आजदेखि मतपत्र छपाईको कार्य शुरु गर्ने

काठमाडौं । राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह बितरण गरेपछि आजदेखि निर्वाचन आयोगले मतपत्र छपाईको कार्य शुरु गर्ने भएको छ । दलका उम्मेदवारलाई पार्टीको चुनाव चिन्ह र स्वतन्त्र उमेदवारी दिएका लागि चुनाव चिन्ह बितरण गरेपछि आजबाट मतपत्र छपाईको कार्य शुरु हुने निर्वाचन आयोगले बताएको हो ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन् ।

आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको हो । आयोगका अनुसार निर्वाचनका लागि ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएका छन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७७ वटै जिल्लामा गरेर १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र कायम भएको जानकारी दिए । आयोगले कायम गरेको र मतदान गर्न योग्य मानेका मतदाताले ती मतदानस्थल र केन्द्रमा गएर मतदान गर्न सक्नेछन् । आयोगले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलगायत अस्थायी मतदाताका लागि भने अस्थायी मतदान केन्द्र तोक्नेछ । आयोगले बुधबारसम्म त्यस्ता मतदाताको विवरण संकलन गरेको थियो ।

आयोगका अनुसार गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएका थिए । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमा गरी १० हजार ७ सय ५६ मतदानस्थल निर्धारण गरेको थियो । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम गरिएको थियो ।

प्रतिनिधिसभा तथा निर्वाचनमा भाग लिने प्रयोजनका लागि भने आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या फरकफरक छ । प्रदेश १ मा ३०, मधेस प्रदेशमा ३७, बाग्मतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

आयोगमा दर्ता भएका दलको संख्या भने १ सय १६ छ ।