१२ बैशाख २०८१, बुधबार 1714020089
फिचर

गुल्मीका काकाकुल गाउँमा पानीले ल्याएको खुशी

ल्मी – मुसिकोट नगरपालिका ३ वडागाउँको पेगामा डेढ करोड बढिको खानेपानी योजना निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।

पाँच किलोमिटर भन्दा लामो पाइपलाइन मार्फत पाउखोला पेगा लिफ्ट खानेपानी योजना निर्माण गरिएको छ । योजनाको नेकपा एमालेका सचीव तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गर्नुभयो।

केही पहिलेसम्म गाउँमा दूध-मोहीभन्दा पिउने पानी पाउन मुस्किल पर्ने स्थितिको स्मरण गर्दै काकाकुल गाउँमा पानीको धारा र शोकाकुल दिदीबहिनीको अनुहारमा खुशी देख्न पाउनुनै आफुहरुको उपलब्धि भएको प्रतिक्रिया बिष्टले दिनु भयो । ‘चुनावमा भोट माग्दा जनताले सय मिटर पाइप माग्थे । अहिले करोडौका खानेपानी योजना निर्माण र घरमै धारा खस्ने अवस्था बनाएका छौ,’ उहाँले भन्नुभयो, ‘अब योजना व्यवस्थित गरेर पानी खाने काममा उपभोक्ताहरु गम्भिर बन्नुपर्छ ।’

खानेपानी योजना ०७५/०७६ सालमा निर्माण सम्झौता भएर ०७७/०७८ मा सम्पन्न गरिएको थियो । यो खानेपानी आयोजना लुम्बिनी प्रदेश सरकारको एक करोड ५९ लाख १८ हजार १२५ र स्थानीयको ४६ लाख पाँच हजार ९८१ रुपैयाँको जनश्रमदान गरेर दुई करोड ५२ लाख चार हजार एक सय छ रुपैयाँको लागतमा निर्माण गरिएको पाउखोला पेगा लिफ्ट खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष तुल्सी बहादुर रायमाझीले बताउनु भयो । यो खानेपानी योजनाबाट एक सय ५१ घरमा एक घर एक धारा सन्चालन भएको रायमाझीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य खड्ग केसीले जनताका मझौला समस्या प्रदेश सरकारले पुरा गरिरहेको बताउनु भयो । समन्वय गरेर जनताका साना योजना स्थानीय सरकार, मझौला योजना प्रदेश र ठुलो योजनाहरु संघिय सरकार मार्फत संचालन गरे प्रभावकारी हुने खड्काको भनाई छ । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नगरको चुनौती र चुनावी नारा भएकाले पाँच बर्षमा दुई दर्जन बढी साना–ठुला खानेपानी योजना निर्माण गरेर घरघरमा खानेपानीको व्यावस्था गरिएको बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख आदिब हुसैनले उपभोक्ता समिति अध्यक्ष तुल्सी रायमाझीलाई योजना हस्तान्तरण गर्नुभयो । सोही अवसरमा हुसैनले मुसिकोटमा खानेपानीको योजना, योजना कार्यान्वयन र परिणाम निकै उदाहरणीय रहेको बताउनु भयो । उहाँले अरु ठाउँमा सरकारका सम्यन्त्र एकातिर र स्थानीय तह अर्कातिर हुँदा प्रभाबकारी योजना संचालन र सदुपयोगमा समस्या भएको स्मरण गर्दै आगामी दिनका चुनौतीमा सजग हुन आग्रह गर्नुभयो ।

मुसिकोट नगरपालिका ३ का बसन्ती जिसिले बिगतको खानेपानीको समस्या निकै कष्टपूर्ण रहेको बताउनु भयो । उहाँले घण्टौ पानी बोकेर उर्जाशिल उमेर बितेकाले घर छेउमा पानी आउँदा खुसी नहुने कुरै नभएको प्रतिक्रिया दिनु भयो ।