५ जेष्ठ २०८१, शनिबार 1716051606
पालिका

पहिरामा घर पुरिँदा हुम्लामा चारको मृत्यु

हुम्लाको चखेली गाउँपालिका–६ मेल्छाममा पहिराले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानविर विकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।

घाइते पाँच जनाको आज बिहान जीवितै उद्धार गरिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिए पनि खराब मौसमका कारण उड्न नसकेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पहिरामै पुरिएर मृत्यु हुनेमा मेल्छाम गाउँका ६० वर्षीया तुल्सा, सात वर्षीया वसन्ता, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली कामी छन् । –