८ बैशाख २०८१, शनिबार 1713592721
समाचार

प्रेस चौतारीको ९ औं महाधिवेशनको लोगो सार्वजनिक

पोखरा -प्रेस चौतारी नेपालको आसन्न ९औं महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुने महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।

नेकपा एमालेका उपमहासचिव, प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले महाधिवेशन मूल व्यवस्थापन समिति बैठकमा लोगो सार्वजनिक गर्नुभयो ।

लोगो सार्वजनिक पछि बैठकमा बोल्दै इन्चार्ज गुरुङले प्रेस चौतारी एमालेको २२ वटा जनसंगठनमध्येमा सबैभन्दा व्यवस्थित र गतिशिल जनसंगठन हुने विश्वास आफूले लिएको बताउनुभएको ।

‘व्यवस्थितको नमूना सबैभन्दा पहिले भव्य तवरबाट महाधिवेशन सम्पन्न गरेर पेस गर्नु पनि हो,’ उहाँले भन्नुभयो ‘ गण्डकी प्रदेशको राजधानीमा महाधिवेशन आयोजना हुँदै छ यसअघि मोफसलमा आयोजना भएका भन्दा राम्रो गर्नुपर्छ ।’

पोखरामै महाधिवेशन गर्नुको कारण यहाँको पर्यटन अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने अपेक्षा रहेको गुरुङको भनाइ छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले महाधिवेशनलाई सबै पक्षबाट उदाहरणीय बनाउन योजनाका साथ अघि बढेको बताउनुभयो । समितिमार्फत गठित विभिन्न उपसमितिले महाधिवेशन तयारी कार्य थालिसकेको संयोजक पाण्डेले जानकारी दिनुभयो ।

मूल व्यवस्थापन समितिले महाधिवेशन तयारीका लागि गण्डकी प्रदेशका ११ वटै जिल्ला अध्यक्षसहितको बैठक आइतबार सम्पन्न गरेको छ । बैठकले ११ वटै जिल्लाका अध्यक्ष र कमिटीलाई समेत महाधिवेशनसम्बन्धी दायित्व बाँडफाँड गरेको छ ।

महाधिवेशनका निमित्त गठित उपसमिति, सचिवालय र जिम्मेवारीमा रहेका सबै सदस्यहरुलाई संयोजक पाण्डेले नतिजा देखिने गरी काम गर्न बैठकमा आग्रह गरे ।

चौतारीले ९ औं महाधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार कर्म ,प्रेस चौतारीको मूल मर्म’ तय गरेको छ ।