२०७९ आश्विन ११ मंगलवार 1664263340
Banner

एमसीसी टेबुल गर्ने गठबन्धनको निर्णय

काठमाडौं– सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ ।

शनिबार बिहान बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  जानकारी दिनुभयो । ‘एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ ‘, उहाँले भन्नुभयो ।

एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ ।

अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिएको थियो । गठबन्धनभित्र मतभेद देखिँदा संसद बैठकमा पेस हुन सकेको थिएन ।

तर, आइतबार बिहान बसेका पाँचदलीय गठबन्धन बैठकले सो प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गर्ने निर्णय गरेको हो । यद्यपि, यसबारे नेताहरूले औपचारिक रूपमा जानकारी दिन बाँकी छ । प्रतिनिधिसभाको बैठक आइतबार (आज) दिउँसो १ बस्दै छ ।

गठबन्धन बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई सहभागी थिए ।