४ बैशाख २०८१, मंगलवार 1713262436
शिक्षा /स्वास्थ्य

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम झापाका ८८ विद्यालय छनोट

झापा -राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् ।
आर्थिक वर्ष २०७८÷७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि ९आइसिटी० कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो । ती विद्यालयका लागि कूल रू १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ ।

छनोटमा परेका विद्यालयमध्ये तीन विद्यालयमा प्रयोगशाला, ३० मा चारकोठे कक्षाकोठा निर्माण, २१ मा दुईकोठे कक्षाकोठा निर्माण र ३४ आइसिटी कक्षा सञ्चालनका लागि बजेट छुट्याइएको हो । ती विद्यालयमा आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय रु छ लाख ५० हजार, ल्याबका लागि प्रतिविद्यालय रु १० लाख, दुईकोठे कक्षाकोठा निर्माण गर्न प्रतिविद्यालयका लागि रु १८ लाख र चारकोठे कक्षाकोठाका लागि प्रतिविद्यालय रु ३६ लाख बजेट विनियोजन गरिएको छ ।

छनोटमा परेको मेचीनगरका सात विद्यालयमध्ये कक्षाकोठा निर्माणका लागि तीनवटा, ल्याब एक र आइसिटीका लागि तीन विद्यालय छनोटमा परेका छन् । त्यस्तै बिर्तामोडका पाँचमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई, झापा गाउँपालिका र गौरीगञ्जका चार–चारमध्ये कक्षाकोठा र आइसिटी दुई–दुई, बाह्रदशीका पाँचमध्ये कक्षाकोठा र आइसिटीका लागि दुई–दुई तथा ल्याबका लागि एक विद्यालय छनोटमा परेका छन् ।