७ बैशाख २०८१, शुक्रबार 1713543947
Uncategorized

महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

काठमाडौं – सुदूरपश्चिम प्रदेशको जितसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

यसअघि समूह ‘ए’ बाट प्रदेश १ र लुम्बिनी प्रदेश तथा समूह ‘बी’ बाट एपीएफले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

बिहीबार नै हुने एपीएफ र गण्डकी प्रदेशबीचको खेलले समूह ‘बी ’को विजेता र उपविजेताको टुं‌गो लगाउनेछ । एपीएफ र सुदूरपश्चिमको समान चार अंक छ ।

फाप्ला क्रिकेट मैदानमा १४४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रनमा समेटियो । प्रदेश २ कि साना प्रविनले १४ रन तथा विमला मगरले १२ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

यसअघि सुदूरपश्चिमले विन्दु रावलको अर्धशतकमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो । विन्दुले अविजित ५० रन जोडिन् । त्यस्तै रुबि पोदारले २१, डल्ली भट्टले १५ तथा कविता जोशी र संगीता धामीले समान १३ रन बनाए । प्रदेश २ का लागि विमला मगरले दुई विकेट लिइन् ।