१४ बैशाख २०८१, शुक्रबार 1714150746
Banner

सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक १० बजे बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक पटक बसेका बैठक निष्कर्षविहीन भएपछि आज हुने बैठक निर्णायक हुने नेताहरुले बताएका छन्। यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन।

एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ भने नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदनमा सहमति नजनाउने तर संसदमा टेबुल गरेर छलफल गर्न भने विरोध नगर्ने निष्कर्ष निकालेको छ।

जसपाले ठोस निर्णय लिन सकेको छैन। अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन्।

एमसीसीले दिएको समयसीमा फागुन १६ गते नजिकिदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट पारित गराउन तीव्र दबाबमा रहेका छन्। गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन्।