८ बैशाख २०८१, शनिबार 1713595280
पालिका

पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ ।

दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपि शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यात्रुवहाक सवारी साधनहरुलाई टाईम कार्ड लागू गरिएको जानकारी दिनुभयो ।

“यहाँबाट छुट्ने र पोखराबाट धौलागिरी क्षेत्रमा भित्रने सवारी साधनले डिमुवा र पोखराको जौवारी चेक प्वाइन्टमा टाइमकार्ड देखाएर इन्ट्री गर्नुपर्नेछ,” उहाँले भन्नुभयो “तोकिएको समय भन्दा छिटो जाने आउने गरेमा र इन्ट्री नगरेमा जरिवाना हुन्छ ।” प्रहरी सहायक निरीक्षक थापाका अनुसार ढिला कुदाउने हुदाँ ठुला बसका लागि भने टाइमकार्ड लागु गरिएको छैन् । डिमुवा–बेनी १ घण्टा ४० मिनेट, बागलुङ–डिमुवा ५५ मिनेट र कुश्मा–डिमुवा २५ मिनेट समय तोकिएको छ । ४५ किलोमिटर दुरीका डिमुवा–जौवारी खण्डका लागि एक घण्टा २० मिनेटको समय तोकिएको छ ।