७ बैशाख २०८१, शुक्रबार 1713534196
Banner

माओवादीका केन्द्रीय सदस्य डंगोलसहित १५० जना नेता-कार्यकर्ता एमालेमा प्रवेश

ललितपुर – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरोज डंगोल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले ललितपुरद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँसहित १५० जनाभन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभयो ।

अध्यक्ष केपी शर्मा ओलीले डंगोलसहित माओवादी र नेपाली काँग्रेसबाट एमालेमा प्रवेश गर्नुभएकाहरूलाई माला लगाई स्वागत गर्नुभयो ।

डंगोलसँगै ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार माओवादीका ललितपुर महानगर अध्यक्ष बाबुराजा बज्राचार्य, महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादी सहकारी केन्द्रीय विभाग सदस्य तथा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईं एमाले प्रवेश गर्नुभयो ।

यसैगरी गत स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका वडा-२० का अध्यक्षका उम्मेदवार धनबहादुर महर्जन, वडा नं १६ का अध्यक्षका उम्मेदवार राजेन्द्र शाक्य पनि एमालेमा प्रवेश गर्नुभएको छ । कार्यक्रममा माओवादीको ललितपुर महानगर कमिटीबाट पदाधिकारी, वडा कमिटी अध्यक्षहरूसहित ३० जना एमाले प्रवेश गर्नभएको छ ।

नेकपा माओवादी ललितपुर सहकारी विभागका प्रमुख रुपेश तिमल्सिना, कोषाध्यक्ष राजेन्द्र घिमिरे, सदस्यहरू नवराज विष्ट, नवराज सिवाकोटी तथा कान्छा बज्राचार्य पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूसँगै ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका तथा गोदावरी नगरपालिकाका माओवादी केन्द्र तथा नेपाली काँग्रेसको विभिन्न भूमिकामा रहेका अगुवा नेता कार्यकर्ता एमालेमा समाहित भएको नेकपा (एमाले) ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै नवप्रवेशी सरोज डंगोलले नेकपा (एमाले) कम्युनिष्टको प्रमुख नेतृत्वकर्ता भएकाले एमालेलाई देशको मुख्य शक्ति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कम्युनिष्टको किल्ला ललितपुरमा एमालेलाई बलियो शक्ति बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । ललितपुर महानगरका उपप्रमुख पदका प्रत्याक्षी तथा नवप्रवेशी बाबुराजा बज्राचार्यले आफू सधै कम्युनिष्टको एकतामा प्रतिवद्ध रहेकाले नेकपाकै निरन्तरताको रूपमा एमाले प्रवेश गरेको बताउनुभयो ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा सम्पन्न उक्त कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य, नेकपा एमाले पोलिटव्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय सदस्य बाबुराम थापा, निवर्तमान संघीय सांसद नवराज सिलवाललगायतले नवप्रवेशीहरूलाई स्वागत गर्नुभएको थियो ।