८ बैशाख २०८१, शनिबार 1713631380
Banner

फिलिपिन्समाथि नेपालको शानदार जित

ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्समाथि शानदार जित निकालेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हरायो । जितका लागि दुई सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८२ रनमा समेटिएको थियो ।

फिलिपिन्सका जोर्डन अलेगाले अविजित सर्वाधिक २७ रन बनाउनुभयो । डानियल स्मिथले सर्वाधिक २० र कप्तान जोनाथन हिलले ११ रन जोड्नुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । सन्दीपले एकै ओभरमा दुई विकेट झार्नुभयाे  भने जितेन्द्र मुखिया, अविनाश बोरोहा, कुशल मल्ल, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय १८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अविजित एक सय चार रन बनाउनुभयो । कुशलले ६१ बलमा १३ चौका र एक छक्काको सहयोगमा शतकीय पारी खेल्नुभयाे ।

शानदार शतक पूरा गर्नुभएका भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि नेपालबाट पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गर्नुभएको थियो । पारसले २०१९ मा सिंगापुरविरुद्ध त्रिदेशीय शृंखलाका क्रममा १०६ रनको शतकीय पारी खेल्नुभएको थियो । ज्ञानेन्द्रले सोही वर्ष भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध १०७ रनको पारी खेल्नुभएको थियो ।

दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाउनुभयो । ऐरीले ४७ बलमा ६ चौका र चार छक्काको सहयोगमा ८३ रन बनाउनुभएको थियो । कुशल मल्लले १२ र लोकेश बमले अविजित ६ रन बनाउनुभयो । ओपनर आरिफ शेख शून्य रनमा आउट हुनुभयो । बलिङमा फिलिपिन्सका डानियल स्मिथ, मिडी पोडोस्की र गुर्भुपिन्डर चोहानले एक एक विकेट लिनुभयो । नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराएको थियो । अब नेपालले समूह चरणको अर्को खेलमा सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।