२०७९ मंसिर २४ शनिबार 1670674318
Banner

बडादसैँको आज दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको दोस्रो दिन आज देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजा अर्चना गरी मनाइँदै छ । नवरात्रीभर विशेष साधना गरी मनाइने पर्वको दोस्रो दिनलाई द्वितीयाको नामबाट पनि चिनिने गरिन्छ । ब्रह्मचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाआजा गर्ने प्रचलन पनि रहिआएको छ ।

आजको दिन बिहान सबेरै उठी नजिकै रहेका विभिन्न नदी, ताल, तलाउमा गई नुहाएर पूजाआजा गर्ने गरिन्छ । आज देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । राजधानीभित्रका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, इन्द्रायणीसहितका देवी दुर्गाका शक्ति पीठहरूमा आज दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।

ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।
नवरात्रको अवधिभर विभिन्न देवीदेवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भई व्रत बस्ने प्रचलन पनि रहेको पाइन्छ । नवरात्रमा व्रत बस्दा सोचेको मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ ।

द्वितीयाका दिन कोत, मन्दिर वा पूजा कोठामा दीप, कलश, गणेशसहित ईशानरकलश वा मध्य भागमा स्थापना गरिएको देवीको मूर्तिमा पहिलो दिनजस्तै सामग्री तयार गरी ब्रह्मचारिणीको भक्तिभावका साथ पूजाआजा गरिन्छ ।

सनातन संस्कृतिमा भने दैवी शक्तिका रूपमा नारी शक्तिको उपासना सृष्टिको प्रारम्भदेखि नै सुरु भएको जनविश्वास छ । सांसारिक मायामोहबाट मुक्त भई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव जीवन सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने शास्त्रमा उल्लेख छ ।

ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीकका रूपमा पनि लिइन्छ । ब्रह्मचारिणी मातालाई पार्वतीको विवाह पूर्वको अवस्थाका रूपमा चर्चा गरिएको छ ।
माता पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवी भागवत लगायतका ग्रन्थहरूमा उल्लेख छ ।

ब्रह्मचारिणी देवीले एक हातमा कमल धारण गर्नुभएको छ भने दोस्रो हातमा कमण्डलु लिनुभएको छ । कमलले सच्चिदानन्द ब्रह्मस्वरुप सङ्केत गर्दछ भने कमण्डलुले वरदान र आशीर्वादको अर्थको सङ्केत गर्दछ । आजै महाकाली, महालक्ष्मी, महासरस्वतीकी प्रतिमूर्ति ‘त्रिमूर्ति’ नाम गरेकी कन्यालाई दुर्गा स्वरूपका रूपमा पूजा गरी परिधानीय वस्त्रसहित अलङ्कार र दक्षिणा दिने गरिन्छ । साथै जप, दुर्गा सप्तशती पाठ र हवन गरी द्वितीया दिनको कर्म पूरा गर्ने चलन रही आएको छ ।

आजै घरघरमा ब्रह्मचारिणीको पूजा आराधना तथा गुण वर्णन गरिएका ग्रन्थहरूको वाचन तथा श्रवण पनि गर्ने गरिन्छ ।