१३ बैशाख २०८१, बिहीबार 1714046123
प्रदेश

बाढीको भेलसँगै बग्दै लुम्बिनी नजिकका पुरातात्विक सम्पदा

लुम्बिनी- विश्वभरि बुद्धधर्मको प्रचारप्रसार बढिरहँदा बुद्ध जन्मस्थल लुम्बिनी नजिक रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बगेका छन् ।

रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँ नजिकै निपनियामा रहेका पुरातात्विक भग्नावशेष बाढीको भेल सँगै दानव नदीमा विलय हुँदै गएका छन् ।

केही वर्षयतादेखि दानवनदीले कटान सुरु गरेपछि जमिनमुनि हराइरहेका प्राचीन अवशेषहरू एकपछि अर्को देखिँदै दानव नदीमा विलय हुन थालेका छन् । सुरुमा त इँटा, माटाका भाँडा र धातुका सामाग्री मात्र भेटिन्थे, तर २०५७ सालतिर नदीको धार परिवर्तन भई कटान बढेपछि पुरातात्विक महत्वका संरचनाहरू प्रत्यक्ष फेला पर्न थालेका छन् ।

विसं २०७१ भदौ १ गते इँटाबाट बनाइएको गोलाकार स्तम्भमाथि ढुङ्गाबाट चारपाटे आकृति दिइएको करिब ३० फिट अग्लो संरचना फेला परेपछि सो ठाउँले विशेष चर्चा पाएको हो । नजिकै बन्जरही, सुमेरगढ, मकुनगढ, सिद्धनाथ र सुदेसरमा पनि यस्ता संरचना जमिनमुनि रहेको बुद्ध आदर्श मावि खुनगाइका शिक्षक हरिमोहन चौधरीले देखाउनुभयो ।

“प्राचीन समयमा त्यस ठाउँमा पम्पापुर नाम गरेको एक सुन्दर र समृद्ध नगर रहेको स्थानीय किंवदन्ती छ”, शिक्षक चौधरीले भन्नुभयो, “हैजा रोगको प्रकोपबाट धेरैजना मासिएको हुनसक्ने र बाँकी अन्यले नगर छोडेर अन्यत्र बसाइँ सरेको हुनसक्ने हाम्रो अनुमान छ ।” कसैकसैले नगरलाई दानव नदीको बाढीले पुरेको मिथक पनि सुनाउने गरेको उहाँले बताउनुभयो ।

बाढीको भेलसँगै त्यहाँ रहेका धेरैजसो पुरातात्विक सम्पदा दानव नदीमा बग्दै गएका छन् । “२०६८ सालमा नदी छेउमा पाँच फिटजति अग्लो ढंङ्गाको रिङ भेटिएको थियो”, स्थानीयवासी दिलीपकुमार श्रीवास्तवले भन्नुभयो, “हामीले विकास कोषलाई भन्यौँ, तर कसैको ध्यान नजाँदा जोगाउन सकिएन, हेर्दा हेर्दै त्यो पनि नदीको भेलले बगाइसक्यो ।”

उमेरले ६९ वर्ष पुगेका स्थानीयवासी जुगुल किशोर त्रिपाठीले त्यहाँ पुरातात्विक महत्वको संरचना जोगाउन नसकिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “म सानो छँदा त्यहाँ एउटा बाकस देखिएको थियो, भित्र के थियो थाहा भएन”, उहाँले भन्नुभयो, “कसले लग्यो–लग्यो ।” प्राचीन सभ्यताका ऐतिहासिक संरचना संरक्षण हुनुपर्ने उहाँको माग छ ।

नदी कटान हुनुअघि त्यहाँ इँटका दिवाल, माटाका भाँडा, बाकस, चाँदीका सिक्का र इनारहरू भेटिन्थे । कुनै–कुनै इनारमा मानिसका कङ्कालहरू देखिएको स्थानीयवासीले बताएका छन् । “त्यहाँ तीस–चालीस वटा इनार थिए”, स्थानीयवासी प्रकाश गुप्ताले भन्नुभयो, “लगभग आठ–दश वर्षअघि उचाल्न नै नसक्ने एउटा ठूलो बाकस देखिएको थियो, त्यो पनि बर्खे भेलमा बग्यो ।”

“म सानो छँदा नहानमेला हेर्न त्यही बाटो भएर अजमा जान्थेँ, त्यतिबेला केही संरचनाहरू बाहिरबाट देखेको हूँ”, प्रदेशसभा सदस्य अष्टभुजा पाठकले भन्नुभयो, “२०६९ सालमा इनार र २०७१ साल भदौ महिनाको बाढी कटानले त विशेष संरचनानै देखायो” । संरक्षणका लागि लागिपरेको भन्नुहुदै उहाँले अन्वेषण गर्ने हो भने जमिनमुनि प्राचीन नगर नै भेटिने दाबी गर्नुभयो ।

नदी कटानले जमीनमुनि देखिने माटोका भाँडा र धातुका सामग्रीलगायतका वस्तु हर्पण सभ्यताको समकालीन भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भन्नुभयो, “भारतीय पुरातत्वशास्त्री एसबी देवले पनि अध्ययनका क्रममा त्यस क्षेत्रमा रहेका पुरातात्विक संरचना भारतको हस्तिनापुरको समकालीन संरचना भएको निचोड निकाल्नुभएको छ ।”

“त्यहाँ देखिने माटाका लेयर मानव बस्तीका सङ्केत हुन”, त्रिपाठीले भन्नुभयो, “प्रत्येक लेयरपिच्छे त्यहाँ मानिस बसेको भन्ने पुष्टि हुन्छ ।” त्यहाँ भेटिएका कैयौँ पुरातात्विक वस्तुहरू वर्षा र बाढीको भेलमा बगिसकेका र केही माटाका भाँडालगायतका अन्य वस्तुहरू स्थानीयवासीले लुम्बिनी विकास कोषलाई उपलब्ध गराएको उहाँले बताउनुभयो ।

“स्थानीयवासीले उपलब्ध गराएका पुरातात्विक वस्तुहरु हामीले सुरक्षित राखेका छौँ”, कोषका उपाध्यक्ष त्रिपाठीले भन्नुभयो, “पछि अध्ययन–अनुसन्धान र उत्खनन गर्दा सहयोग हुनेछ ।” पुरातत्वविद् र कोषका अनुसार सो क्षेत्र बुद्ध जीवनीसँग सम्बन्धित छ । रासस