८ बैशाख २०८१, शनिबार 1713591953
पालिका

‘वडाध्यक्ष कप’ फुटसलको उपाधि गुरूमार्ग युवा क्लबलाई

प्रथम ‘वडाध्यक्ष कप’ फुटसलको उपाधि गुरूमार्ग युवा क्लबले जितेको छ । काठमाडौँ महानगरपालिका–८ द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनलमा सिर्जनशील युवा क्लबलाई ५–२ गोलअन्तरले हराउँदै गुरूमार्ग विजेता बनेको हो । खेलको शुरूआती चरणमा सिर्जनशील युवा क्लबले अग्रता लिएको थियो ।

पछि गुरूमार्ग लयमा फर्किदै जीत हासिल गरेको हो । प्रतियोगितामा उत्कृष्ट समूहको ट्रफी सन्ध्या पुस्तकालयले हात पारेको छ । उत्कृष्ट ‘किपर अफ द म्याच’को ट्रफी सनिर श्रेष्ठ, उत्कृष्ट किपरको ट्रफी सञ्जिव तामाङ, सबैभन्दा बढी गोल गर्ने सुप्रिम डङ्गोल तथा ‘प्लेयर अफ द सिजन’को ट्रफी मनिष सेढाइँले प्राप्त गरे । विजेता खेलाडीलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, कांग्रेस काठमाडौँ क्षेत्र नं ४ का सभापति श्यामकृष्ण सङ्गत, वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ्ग शेर्पा, लोकतान्त्रिक खेलकुद सङ्घ वाग्मती प्रदेशका अध्यक्ष दिपक गुरूङ, कार्यक्रम संयोजक शेखर देउला, काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गत, वडा सदस्यहरू सरस्वती राजभण्डारी, सलोनी ओडारी, राजलक्ष्मी भुसाललगायतले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा उहाँहरुले खेलकुदको विकासका लागि वडा तहदेखि प्रतियोगिता आयोजना गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रथम वडाध्यक्ष कप फुटसलका विजेताले रु ५० हजार तथा उपविजेताले रु २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा कामपा–८ का सन्ध्या पुस्तकालय, जय वागेश्वरी युवा क्लव, गुह्येश्वरी विनायक युवा क्लव, नव अमरकान्तेश्वर युवा समूह, गुरूमार्ग युवा क्लव, तिलगंगा युथ एलाइन्स, पशुपति सिर्जनशील युवा क्लव तथा श्री देउला समाज सहभागी भएका थिए ।