२२ माघ २०७९, आईतवार 1675581370
पर्यटन

पोखराको रामघाटमा सेतीगण्डकी महाआरती

गण्डकी । सांस्कृतिक युवा मञ्च नेपालद्वारा रामघाटमा प्रत्येक महिनाको शनिवार माता सेतीगण्डकी दिव्य महाआरती सञ्चालन गर्दै आएको छ । बालुवा बोकेर दैनिकी चलाउने मजदुर र शव दाहसंस्कार गर्नेहरूले व्यस्त देखिने पोखराको मध्य भागमा अवस्थित उक्त घाटमा प्रत्येक शनिवार पितृ उद्धार एवं सुख, शान्तिको कामनासहित सन्ध्या महाआरती सञ्चालन गरिँदै आएको छ । तीन जना पण्डितद्वारा गरिने गरिने सन्ध्याआरतीमा विशेष गरी धुप, घ्यू, ल्वाङदानी, कपुर, फूलपाती, मयुर पङ्ख, सेतो चमर, अलैँची दाना, लाछीघागो लगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने सांस्कृतिक युवा मञ्च नेपालका अध्यक्ष रामकृष्ण अर्यालले जानकारी दिनुभयो ।

सङ्गीतमय रूपमा शङ्ख उद्घोषबाट सुरु र अन्त्य गरिने आरतीमा ५४ वटा बत्ती रहने बताउँदै उहाँले भन्नुभयो, साँझमा सञ्चालन गरिने आरतीमा दिनप्रतिदिन भक्तजनहरूको सहभागिता बढ्दै गएको छ ।

समाजसेवी रामप्रसाद बतास र श्रीमती सेतीमाया बतासद्वारा पितृ उद्धारका लागि दुई लाख ५० हजारको आर्थिक सहयोगबाट आरती सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । 

प्रतिदिन आरती सञ्चालनमा रु आठ हजार खर्च हुने गरेको छ । ज्येष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष तथा मञ्चका सल्लाहकार भक्तराज श्रेष्ठका अनुसार दिनभरिको तनाव मुक्तिका लागि आरती महत्त्वपूर्ण आधार बन्ने गरेको बताउँदै यस्ता गतिविधिले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्दछ ।

पशुपतिनाथको महाआरतीको झझल्को दिने गरी सुगन्ध र सङ्गीतमय रूपमा सञ्चालन हुने आरती विसं २०७५ असोज २४ घटस्थापनाका दिनदेखि पोखरामा भित्रिएको हो । 

पहिलो पटक फेवातालको किनारास्थित तालबाराहीघाटबाट सुरु भएको आरती पछिल्लो समय राम घाटसहित प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासी मन्दिर, गुप्तेश्वर गुफा, सदाशिव हरिहर मन्दिर, नर्वदेश्वर मन्दिर, बेगनासताललगायत विभिन्न धार्मिक क्षेत्रमा सञ्चालन गरिसकिएको छ । रासस